जेन-जी आन्दोलनमा घुसपैठको आरोप लागेपछि बोल्यो माओवादी

जेन-जी आन्दोलनमा घुसपैठको आरोप लागेपछि बोल्यो माओवादी

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले जेन–जी आन्दोलनको क्रममा भएको ध्वंशात्मक क्रियाकलापमा ‘माओवादीका कार्यकर्ताको संलग्नता’ भनी झुठा प्रचार भएको भन्दै आपत्ति जनाएको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले धारणा सार्वजनिक गर्दै आधारहीन हल्ला फैलाएर पार्टी र आन्दोलनलाई कमजोर बनाउन खोजिएको बताएका हुन् ।

‘केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउने प्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ,’– प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जेन–जी पुस्ताले उठाएका मागहरू सम्बन्धी माओवादी केन्द्रको नीति तथा धारणा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक अपिल प्रकाशित गर्दै स्पष्ट गरिसकेको पनि उनले स्मरण गराएका छन् । प्रवक्ता सापकोटाले आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरु घुसेर विध्वंस र वितण्डा मच्चाएको र माओवादीले कडा शब्दमा विरोध र भ्रत्सर्ना गर्ने पनि उनले उल्लेख गरेका छन् । ध्वंशात्मक गतिविधिले आन्दोलनको मूल उद्देश्य र छविलाई नै धुमिल बनाएको प्रवक्ता सापकोटाको भनाइ छ ।

ृउनले माओवादी पार्टी कार्यालय, अध्यक्ष प्रचण्डलगायत दर्जनौं नेता तथा कार्यकर्ता सम्पत्तिमा आग्नजनी र तोडफोड भएको पनि स्मरण गराएका छन् । त्यस्ता प्रकारका गतिविधिमा माओवादीसँग सम्बन्धित कोहीकसैको संलग्नता देखिए कडाभन्दा कडा कारबाहीका लागि तयार रहेको पनि उनले बताएका छन् । तथ्य र प्रमाण फेला परेसम्म त्यस्ता गतिविधिमा संलग्नलाई सरकारले सख्त कारबाही गर्नुपर्ने उनको धारणा छ ।