काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव फागुन १४ मा नहुने भएको छ। कलेजहरूले सबै व्यवस्थापनको तयारी गर्न नसक्दा स्ववियु चुनाव नहुने निश्चित भएको हो। त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको थियो।
त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी दीपक शाहीले विभिन्न विश्वविद्यालय र कलेजका विद्यार्थीले चुनावको तयारी गर्न नसक्दा तोकिएको समयमा चुनाव गर्न नसकिएको बताए। उनले भने,‘काम गर्नुपर्ने विद्यार्थीको हो, विद्यार्थीबाटै तयारी गर्न नसक्दा चुनाव गर्न नसकिने भयो।’ उनका अनुसार त्रिवि चुनाव गराउने पक्षमा छ। तर, विभिन्न कलेजका विद्यार्थी नै चुनावप्रति एकमत देखिएका छैनन्।
त्रिविको परीक्षा तालिका र चुनाव जुधेको भन्दै विद्यार्थीहरुले समस्या हुने बताउँदै आएका छन्। तर शाहीले भने परीक्षाले चुनावलाई भने कुनै असर नगर्ने दाबी गरे।उनले भने, चुनाव हुन्छ, तर, कुन समयमा हुन्छ भन्ने यकिन गर्न सकिएन, कलेजका विद्यार्थी नेता चुनाव गर्न नसकिएपछि अहिले एक अर्कालाई दोष दिने गरेका छन्।
नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (अखिल)को केन्द्रीय सचिव सुदेश पराजुलीले नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तोकिएको समयमा निर्वाचन गर्न नचाहेको देखिएकाले त्रिवि अलमलमा परेको बताए। ‘स्वतन्त्र विद्यार्थी युनियानलाई कमजोर बनाउने विभिन्न षडयन्त्र भइरहेको छ,’ उनले भने, ‘महत्वपूर्ण कडी निर्वाचनलाई असफल बनाइयो भने विद्यार्थी आन्दोलन कमजोर हुन्छ भन्ने हेतुले कसैले षडयन्त्र गरेको आधारमा केही विद्यार्थी संगठन, विश्वविद्यालय प्रशासन लागिरहेका छन।’