काठमाडौँ : नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित भएका छन् । युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्षका अर्का प्रतिद्धन्दी उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले हराउँदै दुलाल निर्वाचित हुनुभएको हो । दुलालले २८५ मत प्राप्त गरेका छन् भने गौतमले १९३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रकाश रावलले जानकारी दिए ।
कूल ८४३ सदस्य रहेको काठमाडौँ शाखामा अध्यक्ष पदका लागि निर्वाचन हुँदा ४७७ मत खसेको थियो । शाखाको उपाध्यक्ष खुलामा अच्युत रेग्मी, समावेशी उपाध्यक्षमा टुकामाया भण्डारी, सचिवमा अक्कलबहादुर कुँवर, सहसचिवमा सञ्चिता खनाल र कोषाध्यक्षमा निरास तामाङ निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा मनोज भण्डारी, निर्मल धिताल, रोशन सापकोटा, नवराज भट्ट, प्रवीण श्रेष्ठ, घनश्याम श्रेष्ठ, लोकेन्द्र भट्ट र राधा ढुङ्गाना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित अध्यक्ष दुलालले लोकतन्त्रवादी पत्रकारलाई एकजुट बनाई श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरे ।