‘सिंघम अगेन’ र ‘भूल भुलैया–३’लाई पछि पार्दै ‘पूर्ण बहादुरको सारङ्गी’, देशभर हाउसफूल

‘सिंघम अगेन’ र ‘भूल भुलैया–३’लाई पछि पार्दै ‘पूर्ण बहादुरको सारङ्गी’, देशभर हाउसफूल

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले बलियो वर्ड अफ माउथ पाउँदा अनपेक्षित रूपमा दर्शकको साथ पाएको छ । पहिलो दिन पाएका शो पनि हाउसफूल नभएको सिनेमाले दोस्रो दिनको मध्याह्नपछि देखि दर्शकको साथ पाएको हो । 

प्रत्येक शो हाउसफूल भएपछि हलहरूले शो थपिरहेका छन् । प्रत्येक मल्टिप्लेक्सले अहिले यो चलचित्रलाई सुरुका दिनमा दिएको शोमा दोब्बरभन्दा धेरै शो उपलब्ध गराएका छन् । 

लक्ष्मीपूजाका दिन रिलिज भएको यो चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंभित्र र बाहिर समान १९÷१९ शो दिएर जम्मा ३८ शो दिएको थियो । 

आज क्यूएफएक्सले यो सिनेमालाई काठमाडौंमा ३१ र काठमाडौंबाहिर ३३ शो दिएको छ । आज क्यूएफएक्सका आउटलेटमा यो चलचित्रले ६४ शो पाएको छ । क्यूएफएक्सले आज ‘पूर्ण बहादुरको सारङ्गी’लाई ठूलो हल उपलब्ध गराएको छ । 

क्यूएफएक्सकै तुलनामा अन्य हलले पनि ‘पूर्ण बहादुरको सारङ्गी’लाई शो प्रदान गरेका छन् । सुरुमा दुई शो उपलब्ध गराएका हलले अहिले बढाएर सात शो सम्म पुर्याएका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ले बलिउडका ठूला दुई चलचित्र ‘सिंघम अगेन’ र ‘भूल भुलैया–३’लाई पनि पछि पारेको छ । यी दुई चलचित्रले भन्दा ‘पूर्ण बहादुरको सारङ्गी’ले आज धेरै शो पाएको छ । 

‘पूर्ण बहादुरको सारङ्गी’मा दर्शकको उच्च चाप देखिएपछि हलहरूले राति अबेरसम्म शो दिएका छन् । धेरैजसो शो फिलिङ फास्टमा गएपछि मध्यरातसम्मका शो ‘पूर्ण बहादुरको सारङ्गी’लाई हल उपलब्ध गराइएको हो । 

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ । 

चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।