काठमाडौं महानगरले साफको फाइनल खेल कहाँ-कहाँबाट देखाउँदैछ ?

काठमाडौं महानगरले साफको फाइनल खेल कहाँ-कहाँबाट देखाउँदैछ ?

काठमाडौँ । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

बुधबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा नेपाल-बंगलादेशबीच फाइनल खेल हुँदैछ। काठमाडौं महानगरपालिकाले उक्त खेल तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने भएको हो।  काठमाडौंको टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरनमा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रसारण गराउन लागिएको हो।

दशरथ रंगशालामा टिकटको बिक्री सकिसकेको छ। अनलाइनबाट बिक्री गरिएको टिकट रोकेर अखिल नेपाल फुटबल संघ (एन्फा)ले भौतिक रूपमै टिकट बिक्री गरेको थियो। टिकट किन्न बुधबार बिहानैदेखि मानिसहरू लाइनमा लागेका थिए।

भारतविरूद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी दर्शक छिराएका कारण सुरक्षा खतरा बढेको भन्दै एन्फाले माउन्ट एभरेस्ट प्रालिसँगको सम्झौता रद्द गरेको थियो।  ८० लाखमा टेन्डर लिएको प्रालिले आइतबार १८ हजार बढी टिकट बिक्री गरेको रिपोर्ट सार्वजनिक भएको थियो। जबकी रंगशालाको क्षमता १४ हजारको हो।