बक्सअफिसमा ‘छक्का पञ्जा ५’को आक्रामक व्यापार

बक्सअफिसमा ‘छक्का पञ्जा ५’को आक्रामक व्यापार

काठमाडौं । बक्सअफिसमा चलचित्र ‘छक्का पञ्जा ५’ले आक्रामक व्यापर गरिरहेको छ । दीपाश्री निरौला निर्देशित यो चलचित्रले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको हो । नेपालीहरूको महान् चाड बडादशैँको अवसरमा असोज २४ गतेदेखि सिनेमाघरमा आएको यो चलचित्रले १० दिनमा देशभर १५ करोड ४० लाख ग्रस कलेक्सन गरेको छ । यो मितिमा चलचित्र ‘छक्का पञ्जा ५’सँगै ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका थिए । ‘१२ गाउँ’ले सुरुवाती सात दिनमा १० करोडमाथि व्यापार गरेको छ भने ‘ज्वाइँ साब’ले दश दिनमा तीन करोड २५ लाख कमाएको जनाइएको छ ।

‘छक्का पञ्जा ५’ ले शनिबारसम्म १५ करोड ४० लाख ग्रस कलेक्सन गरेको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । पहिलो साता भने चलचित्रले साढे ११ करोड कमाइ गरेको थियो । दोस्रो बिहीबार एक करोड २० लाख, दोस्रो शुक्रबार पनि एक करोड २० लाख र दोस्रो शनिबार एक करोड ५० लाख ग्रस कमाइ गरेको ब्यांकटेसले उल्लेख गरेको छ । ‘छक्कापञ्जा ४’ ले दोस्रो सप्ताहन्तसम्म साढे १० करोड ग्रस कमाई गरेको थियो । अघिल्लो शृंखलाभन्दा ‘छक्का पञ्जा ५’ ले तीव्र गतिमा व्यापार गरिरहेको निर्माण टिमले जनाएको छ ।

यस चलचित्रमा दीपकराज गिरी, वर्षा शिवाकोटी, केदार घिमिरे मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ । दीपककै कथा, पटकथा र संवाद रहेको चलचित्रको कथा कर्मचारीतन्त्र, राजनीतिमा केन्द्रित छ ।

‘१२ गाउँ’को सुरुवाती सात दिनमा १० करोडमाथि व्यापार
 

यस्तै, विराज भट्टको चलचित्र ‘१२ गाउँ’ले सुरुवाती सात दिनमा १० करोडमाथि व्यापार गरेको गोविन्द शाहीको दाबी छ । सिनेमा घरहरूमा पछिल्ला दिनमा यो चलचित्रको अकुपेन्सी पनि बढेको थियो । ‘१२ गाउँ’बाट समीर भट्टले ठूलो पर्दामा डेब्यु गर्नुभएको छ ।

भारतमा बसेर मार्सल आर्ट र अभिनय सिक्नुभएका समीरले पहिलो चलचित्रबाट आफूलाई एक्सन हिरोको रूपमा चिनाउनुभएको छ । यो चलचित्रबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्नुभएको छ । चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्रमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ ।

एक्सन-थ्रिलर कथामा यो चलचित्रमा तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गर्नुभएका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाउनुभएको छ । महेश पौडेलको छायांकन रहेको चलचित्र काठमाडौं, ललितपुर, वीरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । चलचित्रको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।

‘ज्वाइँ साब’ले तीन करोड २५ लाख कमाएको दाबी
 

त्यस्तै, दशैँको फूलपातीबाट प्रदर्शनमा आएको चलचित्र ‘ज्वाइँ साब’ले सुरुवातदेखि नै ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’सँगको भिडन्तका कारण अपेक्षित शो पाउन सकेन । ‘ओपनिङ’ पनि सन्तोषजनक नहुँदा शो झनै खुम्चियो । तर, ‘वर्ड अफ माउथ’ राम्रो मिल्न थालेपछि चलचित्रले गति समात्यो । दशैँको टीकापछि अकुपेन्सीमा वृद्धि गरेको चलचित्रले दोस्रो हप्तामा पनि राम्रो दर्शक पाइरहेको छ ।

यसैबीच, निर्माण कम्पनी रेड आई फिल्मस्ले चलचित्रको १० दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार एक पोष्टमार्फत् चलचित्रले तीन करोड २५ लाख कमाएको जनाइएको छ । यो ग्रस व्यापार हो । अर्थात् यसमा हलको सेयर र वितरकको कमिसन काटिएको छैन । निर्माताले सार्वजनिक गरेको व्यापारिक आँकडा हेर्दा चलचित्रको लगानी सुरक्षित भएको देखिन्छ । किनकि, यो चलचित्र बढीमा डेढ करोडमा बनेको हो । चलचित्रले एक करोड कमाउँदा निर्मातालाई ४५ लाखसम्म सेयर आउँछ ।

दशैँ अवधिभर न्यून शो पाएको ‘ज्वाइँ साब’ले विस्तारै शो थप्न थालेको छ । निर्देशक वसन्त निरौलाका अनुसार सुरुमा नलगाएका हलले पनि चलचित्र चलाउन थालेका छन् । शो र दर्शक दुवै बढ्न थालेकाले चलचित्र तिहारसम्म जाने उहाँको विश्वास छ । चलचित्रमा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतको अभिनय छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने रोचक विषयवस्तु उठाएको चलचित्रले पारिवारिक दर्शकलाई आकर्षिक गरेको देखिन्छ ।