सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले अन्तिम खेलअघि नै जित्यो सिरिज

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले अन्तिम खेलअघि नै जित्यो सिरिज

काठमाडौं । सोमपाल कामी नायक बनेपछि नेपालले आइतबार बिहान भएको दोस्रो टी -२० खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गरेको छ ।

डलासमा भएको खेलको अन्तिम ओभर र सुपर ओभरमा तिव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जिताउन महत्वपूर्ण भूमिका खेले । सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जितपछि नेपालले तीन खेलको सिरिजमा २-० को अग्रतासहित एक खेलअगावै सिरिज आफ्नो पोल्टामा पारेको छ ।

निर्धारित २० ओभरमा नेपाल र र अमेरिकाले समान रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए ।

त्यसपछि कप्तान रोहित कुमार पौडेल र कुशल भुर्तेलले सुपर ३ रन बनाउँदै सुपर ओभरमा नेपाललाई जित दिलाए । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले २० ओभरमा ६ विकेटको क्षतीमा १७० रन बनाएको थियो । १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याच बने । अमेरिकाका लागि आन्द्रे गौसले ६२ रन बनाए ।