डायलासिसपछि आराम गर्दै ओली, सचिवालय बैठक पनि स्थगित

काठमाडौं : नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ को राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। याक एन्ड यति होटलमा तय भएको कार्यक्रम प्रधानमन्त्रीले उद्घाटन गर्ने तयारी थियो। तर, ओली अनुपस्थित भएपछि कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन्।

यस्तै, आजका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को सचिवालय बैठक पनि स्थगित गरिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले शनिबार डायलासिस गराएका थिए। उनको स्वास्थ्यलाई ध्यानमा राख्दै आराम गर्नका लागि आज तय भएका कार्यक्रम स्थगित गरिएको उनले बताए।

शनिबार डायलासिस गरेकाले उनले आराम गरिरहेका छन्। ११ बजेका लागि बोलाइएको सचिवालय बैठक पनि स्थगित गरिएको छ। प्रचार विभाग उपप्रमुख समेत रहेका थापाले बताए।गत माघ १९ गते नेकपा केन्द्रीय समिति बैठक समापनअघि सचिवालय बैठक बसकेको थियो।प्रधानमन्त्री ओली १२ वर्ष अघि प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छाडेपछि नियमित डायलासिस गर्दै आएका छन्।