काठमाडौं । घरेलु टिम अमेरिकासँगको ट्वान्टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले १७ रनको जित निकालेको छ ।
शुक्रबार बिहान ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रनमात्र बनायो ।
सयक जाहागिरले ६० रन बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै, आन्द्रियस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहलले १६ रन बनाए । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । यस्तै, रिजन ढकाल, करण केसी र गुल्सन झाले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६४ रनको योगफल खडा गरेको थियो ।
नेपालका कप्तान रोहितकुमार पौडेल अर्धशतक बनाउन एक रनले चुके । उनले ३३ बलमा चार चौका र एक छक्कासहित ४९ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए । ओपनरद्वय अनिल साह र आसिफ सेखले समान २७ रन जोडे । गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रन थपे । नेपालका करण केसी र आरिफ सेख भने गोल्डेन डक भएका थिए ।
अमेरिकाका सौरभ नेत्राभाल्कर, जसदीप सिंह र हर्मीत सिंहले समान दुई विकेट लिए । अली खान र नोस्थुस केन्जिगेको नाममा एक–एक विकेट रह्यो ।
यी दुई टिमबीच ट्वान्टी–२० शृंखलामा तीन खेल हुने तालिका छ । पहिलो खेलमा जितसँगै नेपालले शृंखलामा १–० को अग्रता बनाएको छ । शृंखलाको दोस्रो खेल अक्टोबर २० र तेस्रो खेल अक्टोबर २१ मा हुनेछ ।