दसैँमा प्रदर्शनमा आएका कुन फिल्मले कति कमायो ?

दसैँमा प्रदर्शनमा  आएका कुन फिल्मले कति कमायो ?

काठमाडाैँ । दसैं फूलपातीको अवसर पारेर रिलिज भएका नेपाली फिल्महरू प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेका छन्।

'छक्का पञ्जा ५', '१२ गाउँ' र 'ज्वाइँ साब' आजबाट दोस्रो सातामा प्रवेश गरेका हुन्। यीमध्ये आक्रामक व्यापार गरिरहेका 'छक्का पञ्जा ५' र '१२ गाउँ' लाई क्युएफएक्सले सुपरहिट घोषणा गरिसकेको छ। 

सुरूका दिनमा राम्रो अकुपेन्सी नदेखिएको 'ज्वाइँ साब' ले पनि पिकअप लिइरहेको छ। अहिले यो फिल्म प्राप्त शोमा राम्रो अकुपेन्सीमा चलिरहेको निर्माण पक्षले जनाएको छ। व्यापारको कुरा गर्दा दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छक्का पञ्जा ५' ले ११ करोडमाथिको ग्रस कलेक्सन गरेको जनाइएको छ। 

विराज भट्टका बाबु–छोराको फिल्म '१२ गाउँ' को ग्रस कलेक्सन ७ करोडमाथि पुगेको अनुमान गरिएको छ। यद्यपि, आधिकारिक रूपमा बक्स अफिस कलेक्सनको रिपोर्ट सार्वजनिक गरिएको छैन। जितु नेपाल र नीति शाह अभिनीत 'ज्वाइँ साब' ले पनि ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छैन। 

दोस्रो सातामा फिल्मले पाएको शोको कुरा गर्दा क्युएफएक्स चेनमा काठमाडौंका आउटलेटमा 'छक्का पञ्जा ५' र '१२ गाउँ' को शो बराबरजस्तो छ।  शुक्रबारका लागि क्युएफएक्सका काठमाडौंका आउटलेटमा '१२ गाउँ' को शो बढी छ। दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले बिहीबारका लागि 'छक्का पञ्जा ५' लाई १५ शो दिएको छ भने '१२ गाउँ' ले १२ शो पाएको छ। आईएनआईमा 'ज्वाइँ साब' लाई ३ शो दिइएको छ।

बिग मुभिजमा '१२ गाउँ' अगाडि देखिएको छ। यहाँ बिहीबारका लागि 'छक्का पञ्जा ५' ले ६ र '१२ गाउँ' ले ७ शो पाएको छ। यहाँ 'ज्वाइँ साब' लाई १ शो दिइएको छ। 
सुरूमा शो बाँडफाँट गर्दा क्युएफएक्समा '१२ गाउँ' ले भन्दा 'छक्का पञ्जा ५' ले धेरै शो पाएको थियो। दर्शकको साथ पाएपछि '१२ गाउँ' ले विस्तारै शो बढाउँदै लगेको हो। 

असोज १७ गते रिलिज फिल्म 'बेहुली फ्रम मेघौली' लाई भने निर्माताले बिहीबारदेखि हलबाट उतारेका छन्। यसका निर्माता एवं अभिनेता निश्चल बस्नेतले फिल्मले राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ पाइरहेको भए पनि हलले शो घटाएको र हिन्दी फिल्मलाई शो दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

यो फिल्मलाई स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेका हुन्। फिल्मलाई चाँडै ओटिटी प्लेटफर्ममा रिलिज गरिने जनाइएको छ।