काठमाडाैं।गाजामा युद्ध निम्त्याउने गरी हमासले दक्षिणी इजरेलमा गरेको आक्रमणको ठिक एक वर्षपछि उक्त समूहले सोमवार तेल अभिभलाई निशाना बनाएर कैयौँ रकेटहरू प्रहार गरेको छ।
जसका कारण इजरेलमा चेतावनीका साइरनहरू बजेका थिए। इजरेली सेनाले कैयौँ रकेटहरू आकाशमै नष्ट गरिएको बताएको छ। हमासलाई समाप्त पार्ने लक्ष्यसहित सुरु गरेको आक्रमणको १२ महिनापछि इजरेलले दक्षिणी गाजामा थप आक्रमणहरू हुने चेतावनी दिएको छ।
हमासले गत वर्ष अक्टोबर ७ मा इजरेलमा हमला गरेको एक वर्ष पुग्दै गर्दा सोमवार इजरेल, हमास र हिज्बुल्लाह सबैले अर्को पक्षविरुद्ध आक्रमण गरेका छन्।
इजरेल सहित विश्वभरि हमास हमलाको स्मरण गरिएको छ। उक्त हमलामा हमासले १,२०० जना मानिसको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाएको थियो। त्यसयता इजरेली हमलामा गाजा क्षेत्रमा झन्डै ४२ हजार मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अक्टोबर ७ को एक वर्ष पुगेको दिन इजरेली सहर तेल अभिभकी एक जना बासिन्दाले वातावरण एकदम गह्रुङ्गो भएको बताइन्।
“मलाई एकदम शोकको अनुभूति भइरहन्छ। एकदमै दुखी छु। तपाईँ यो दुख जताततै देख्न सक्नुहुन्छ - टेलिभिजन हेर्दा वा मोबाइल हेर्दा वा सडकमा मानिसहरू रोइरहेको देख्दा। मन एकदम भारी भएको जस्तो लाग्छ,” तेल अभिभकी ती बासिन्दाले भनिन्।
एकजना प्यालेस्टीनी पत्रकार रुस्दी अबुअलुफले गाजामा मानिससँग कुरा गर्दा धेरैले उनलाई आफूहरू “कुनै जादुको सहारामा अक्टोबर ७ भन्दा अगाडिकै समयमा पुग्न चाहेको” बताएका थिए।
“त्यो दिन र त्यसपछि हालसम्म भइरहेका घटना उनीहरूका लागि पीडा, त्रास, विस्थापन, हत्या, विनाश र क्षतिले भरिएको छ,” उनले सुनाए।
सोमवार इजरेलले दक्षिण लेबननमा गरेको हमलामा कैयौँ अग्नि नियन्त्रकहरू मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरेली सेनाले गाजा र लेबननमा हमास र हिज्बुल्लाहका निसानाहरूमा हमला गरेको बताएको छ।
गाजाबाट इजरेलतर्फ रकेट प्रहार गर्दा तेल अभिभमा दुईजना घाइते भएको बताइएको छ।
हिज्बुल्लाहले पनि उत्तरी इजरेलमा क्षेप्यास्त्र प्रहार गर्दै ७ अक्टोबरका घटनालाई “साहसपूर्ण” भनेको छ। उसले इजरेली फौजको प्रतिरोध गर्न सकिनेमा आफूहरू विश्वस्त भएको बताएको छ।
अक्टोबर ७ को स्मरण गरिँदै गर्दा गत साता इरानले गरेको बलिस्टिक क्षेप्यास्त्र हमलाको इजरेलबाट हुने ठानिएको बदला कारबाहीलाई लिएर सम्पूर्ण मध्यपूर्व क्षेत्र चिन्तापूर्ण पर्खाइमा रहेको देखिने बीबीसी संवादददाता जेरमी बावेनले जनाएका छन्।
“इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानको आक्रमणको जबाफ आफूले सही ठहर्याएको समय र तरिकामा दिइने बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले इरानको परमाणु वा तेल प्रशोधन स्थलहरूमा आक्रमण भएको हेर्न नचाहेको बताएका छन्। इजरेलीहरू इरानलाई पोहोरको हमास हमलाको समर्थक ठान्छन् र राष्ट्रपति बाइडनको सल्लाह नमान्न त्यहाँ दबाव बढेको छ,” जेरमी बावेन भन्छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले यो एक वर्षमा धेरै गैरसैनिकले दु:ख पाएको बताएका छन्। इजरेल एक्लो नभएको पनि उनले बताए।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पीडितहरू सदा सम्झनामा रहने बताए भने ब्रिटेनका प्रधानमन्त्री किअर स्टार्मरले अक्टोबर ७ लाई होलोकस्ट यता यहुदीहरूमाथि आइपरेको सबैभन्दा अँध्यारो दिन भनेका छन्। जर्मन चान्सलर ओलाफ सोल्जले उनको देशले इजरेलको पीडा बुझेको बताए।
इजरेलका राष्ट्रपति आइज्याक हर्जोग नोभा साङ्गीतिक कार्यक्रम भएको स्थलमा पुगेर त्यहाँ आयोजित स्मृति सभामा सामेल भए।
हमासले हमला गर्नु अघि बजेको अन्तिम गीत त्यहाँ सोमवार बजाइएको थियो। आफन्तहरूले मारिएका सयौँको फोटो उचालेका थिए।
“किब्बुज रेइम तथा त्यसको छेवैमा भएको साङ्गीतिक कार्यक्रममा मारिएकाहरूका आफन्त इजरेलको घातक दिनको सबभन्दा घातक स्थलमा आयोजित एक भावपूर्ण स्मृतिसभामा सामेल भए,” बीबीसी संवाददाता योलन्डा नेल भन्छिन्।
“त्यसपछि जे भयो त्यो प्यालेस्टीनीहरूसँग इजरेलको दशकौँ यता भएको सबभन्दा घातक र लामो युद्ध हुन पुग्यो।”