प्रदेश १ को नाम ‘लिम्बुवान–किरात’ राख्न पहिचानवादीले मुख्यमन्त्रीलाई बुझाए ज्ञापनपत्र

प्रदेश १ को नाम ‘लिम्बुवान–किरात’ राख्न पहिचानवादीले  मुख्यमन्त्रीलाई  बुझाए ज्ञापनपत्र

बिराटनगर : एक नम्बर प्रदेश सरकारले स्थायी राजधानी टुंगो लगाएसंगै मंगलबारबाट सुरु अधिवेशनबाट नामको पनि टुंगो लगाउने गृहकार्य थालेको छ । तर, प्रदेशको नाम के राख्ने भन्ने विषयमा विवाद मिलेको छैन । नेकपाकै नेताहरुले समेत पहिचानका आधारमा नाम राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

मुख्यमन्त्री शेरधन राईले यही अधिवेशनबाट प्रदेशको नाम राखिने बताउँदै आएका छन् । नामाङकनका लागि मुख्यमन्त्री राईले अनौपचारिक छलफल र परामर्श गरिरहेका छन् ।

प्रदेश १ को नाममा पहिचान नजोडिए स्वीकार नगर्ने २२ वटा पहिचानवादी संगठनहरुले चेतावनी दिएका छन् । इटहरीमा पत्रकार सम्मेलन गर्दै सत्तारुढ दल नेकपाको भातृ संगठन लिम्बुवान राष्ट्रिय मोर्चा, किरात राष्ट्रीय मुक्ति मोर्चासहित २१ वटा जातीय संघ संगठनले पहिचानको मुद्दालाई सम्बोधन नगरे प्रदेशको नाम स्वीकार नगरी सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

इटहरीको भेलापछि उनीहरुले प्रदेश १ का मुख्यमन्त्री र सभामुखलाई भेटेर ज्ञापनपत्र समेत बुझाइसकेका छन् । पहिचानवादीहरु मिल्दैनन् भन्ने गुनासो आइरहेका बेला २२ वटा घटकहरु एकै स्थानमा उभिएर पहिचानको मुद्दामा एकमत भएको नेकपानिकट लिम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङ्बो बर्ताएका छन् ।