मनोज खड्काको शब्द र रामकृष्ण ढकालको स्वरमा 'जीवनको हिसाब' (भिडियो)

मनोज खड्काको शब्द र रामकृष्ण ढकालको स्वरमा  'जीवनको हिसाब'  (भिडियो)

काठमाडौं। पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछि अर्को गीत सार्वजनिक हुन थालेका छन्। यसै मेसोमा चर्चित गायक रामकृष्ण ढकालले स्वर दिएको  गीत ‘जीवनको हिसाव’ सार्वजनिक भएको छ।

उत्कृष्ट गीत सृजना गर्दै आएका मनोज खड्काको शब्द रहेको गीतमा डेनी निरौलाका संगीत र किरण कँडेलको एरेन्ज रहेको छ भने शम्भु तण्डुकाको मिक्सिङ र रेकर्डिङ रहेको छ।

अष्ट्रेलियाको सिड्नीमा आयोजित एक वृहत सांगीतिक कार्यक्रममा यो गीतको भिडियो गायक ढकालले सार्वजनिक गरे। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियोमा अभिनेता दिलीप रायमाझी र मोडल सविना थपलियाको अभियन छ।

परदेशिएका नेपालीहरुमा समर्पित गीतमा घर छोडेर परदेशिए पछिको पीडालाई यथार्थपरकरुपमा चित्रण गरेको छ। नेपालमा तयार भएको अडियोको भिडियो नेपाल र अमेरिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ। गीतलाई निकै रुचाइएको छ।

गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रिय नियोग यूएसएड्को मुख्यालय वासिङ्टन डीसीमा कार्यरत छन्। गीतकार खड्काले नेपालको हरेक परिवारका कोही न कोही सदस्य विदेशमा रहेकाले सम्बन्धित व्यक्ति तथा परिवारका लागि गीतले छुने बताए।

‘यो गीत गायक रामकृष्ण ढकाल कै लागि लेखिएको हो। गायक र संगितकार दुबैले गीतको शब्द र भाबहरुमा पूर्ण न्याय दिनुभएको छ। गीतमा आम दर्शक तथा श्रोताहरुले आफ्नै वा आफ्ना नजिकका मान्छेहरूको कहानी पाउनेछन्’, उनले भने।