काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा सहकारीबाट आएको पैसाको परिचालनमा आफूले जिम्मेवारी लिने बताएका छन्। आज (मंगलबार) सामाजिक सञ्जालमार्फत लाइभ आएका लामिछानेले संसदीय समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीमा संलग्नता नदेखिएको बताएका हुन्।
‘समितिले भन्यो सहकारी ठगीमा मेरो संलग्नता रहेन। म संस्थामा रहेको बेला पैसा आएको कुराको जिम्मेवारी लिनुपर्छ। म त्यो जिम्मेवारीबाट भागेको छैन,’ उनले भने।
आफूमाथि सरकारले कुन मुद्दा लगाउन सकिन्छ भनेर चलखेल भइरहेको उनले बताए । सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभए राजनीति नै छाड्छु भन्नेहरुमाथि पनि उनले प्रश्न उठाए। उनले अरुले राजनीति नछाडे पनि आफू सहकारी ठग पुष्टि भएको भए राजनीति छोडिदिन तयार भएर बसेको पनि उनले बताए।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभएको खण्डमा राजनीति छाड्न तयार रहेको उनले बताएका थिए।
गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको बयानबाट रवि लामिछानेलाई पक्राउ गर्न सकिन्छ कि भन्ने प्रयास भइरहेको पनि उनले बताए। आफू गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय आएको पनि उनले बताए।