कांग्रेसको प्रश्न : बालुवाटार जग्गा प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा किन ?

कांग्रेसको प्रश्न  : बालुवाटार जग्गा प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा किन ?

काठमाडौं : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो एक बजेसम्मकालागि स्थगित भएको छ । आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अग्नि सापकोटाले काँग्रेस सचेतक पुष्पा भुसाललाई बोल्न समय दिएका थिए । बैठकमा सचेतक भुसालले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग आयोगले राजनीतिक पूर्वाग्रहका आधारमा अदालतमा मुद्दा दर्ता गरेको बताइन् ।

सांसद भुसालले तत्कालीन मन्त्री विजयकुमार गच्छदारलाई आरोपित गरिएको तर क्याबिनेटको प्रमुख तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दा दायर नगरिएको प्रति विरोध जनाएकी थिइन् । मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले नचाहेमा मन्त्रिपरिषद्का निर्णय हुन नसक्ने बताउँदै सांसद भुसालले मुख्यसचिव हुँदै मन्त्रिपरिषद्मा प्रस्ताव जाने र निर्णयको एउटा प्रक्रियामा हुने हुनाले आरोप पत्रमा कसैलाई काखा र कसैलाई पाखा गरिएको आरोप लगाइन ।

सांसद भुसालले नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो योगदान गरेको नेतालाई आरोपित गर्ने काम भएको भन्दै पटक पटक जनताबाट निर्वाचित नेतालाई अपमान गर्ने काम भएको भन्दै जनमतको समेत अपमान गरिएको आरोप लगाएकी छन् । कानुनले जग्गा फिर्ता गर्दैमा आरोपी मुक्त हुने भन्ने हास्यास्पद निर्णय गरेको भन्दै विभेदकारी र राजनीति प्रतिशोधको आधारमा मुद्दा दायर गरेको उनले बताइन ।

उनले अख्तियार जस्तो निष्पक्ष आयोग सरकार सामु लाचार भएको बताइन् । उनले तथष्ट हुनुपर्ने संवैधानिक अंगहरुनै सरकारको प्रभावमा परेर हुने गरेका यस्ता क्रियाकलापलाई काँग्रेसले स्वीकार नगर्ने बताइन् । यस प्रकरणको विरोध स्वरूप संसद् अवरुद्ध गर्ने जानकारी गराएकी छन् । सभामुखको पटक पटकको आग्रहमा समेत सांसदहरू नबसेपछि बैठक भोलि दिउँसो एक बजेसम्मकालागि स्थगित भएको छ ।