तेस्रो बिहेबारे के भन्छन् आमिर खान ?

तेस्रो बिहेबारे के भन्छन् आमिर खान ?

नयाँ दिल्ली। बलिउडका मिष्टर पर्फेक्शनिष्ट आमिर खानले पुन विवाह गर्ने योजना नभएको सुनाएका छन्। हालै रिया चक्रवर्तीको पडकाष्ट च्याप्टर २ मा आमिरलाई बिहेबारे प्रश्न सोधिएको थियो।

पडकाष्टमा रियाले अभिनेतालाई अर्को बिहे कहिले गर्ने भनेर सोधेकी थिइन्। यसको जवाफमा आमिरले ‘म ५९ वर्षको भइसकेको छुँ। मलाई लाग्दैन कि म फेरि बिहे गर्छु,’ भनेका थिए। यतिबेला आफ्नो जिन्दगीमा कयौं सम्बन्धहरू भएको पनि उनले बताएका थिए।

आफू पुनः परिवारसँग जोडिएको, आफ्नो साथमा बालबच्चा, भाई र बहिनी सबै रहेको भन्दै उनले बिहे हुन मुश्किल भएको बताएका थिए। रियाले ‘मैले त आमिर खानलाई दुलही चाहियो’ भनेर विज्ञापन पनि दिइसके भनेकी थिइन्।

यसको जवाफमा आमिरले यतिबेला त चाहिएको छैन भनेका थिए । ‘म आफ्ना आफन्तहरूसँग खुसी छु। रामो व्यक्ति बन्ने कोशिश गरिरहेको छुँ।’ उनको भनाइ थियो। आमिरको हातमा यतिबेला सितारे जमीन पर फिल्म छ।

आमिर खानको दुई पटक घरबार बिग्रिसकेको छ। आमिरले पहिलो बिहे सन् १९८६ मा रीना दत्तासँग गरेका थिए। यो बिहेबाट आमिरको दुई सन्तान जुनैद खान र आयरा खान छन्। तर सन् २००२ मा आमिर र रीनाले सम्बन्ध विच्छेद गरे। यसपछि उनी किरण रावसँग प्रेममा परे । उनले किरणसँग बिहे गरे।

दुबैको एक छोरा आजाद राव खान पनि छन्। तर सन् २०२१ मा किरण र आमिरले सम्बन्ध विच्छेद गरे। दुई पटक घरबार बिग्रिसकेका आमिरको तेस्रो बिहेबारे अनेकौं अफवाह सुन्नमा आइरहेका छन्। दंगलमा आमिरको छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग पनि उनको नाम जोडिएको थियो।