सडक बन्द गरेर संविधान दिवसको कन्सर्ट, यसरी हुँदैछ तयारी (तस्बिरहरू)
नेपाल डेली
बुधबार, ०२ असोज २०८१, १२ : ५२ मा प्रकाशित
काठमाडौँ । संविधान दिवसको दिन बुधबार दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ गरिँदैछ । ब्यस्त सडक छेकेर कन्सर्ट गर्न लागिएपछि मंगलबारदेखि नै उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
कन्सर्टका लागि आजैदेखि स्टेज बनाउने काम तीव्र गतिमा भइरहेको छ । कन्सर्टको तयारी सुरू भएसँगै दरबारमार्ग, जमल, कमलपोखरी, प्रज्ञा प्रतिष्ठान र पुतलीसडक क्षेत्रको सवारी अस्तव्यस्त भएको छ ।
मंगलबार यस क्षेत्रमा आउने सवारीसाधनको जाम सिंहदरबार पूर्वीगेटबाटै सुरु भएको थियो । सहरबीचको सडकलाई कन्सर्टमा उपयोग गरिँँदा सर्वसाधारणले भने सास्ती भोगेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्ट गरिएको छ ।