आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री

आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री

 काठमाडौं । दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक भएको छ । आतिशी मार्लेनाले अरविन्द केजरीवालको ठाउँ लिने भएकी छन् ।

दिल्लीको सत्ता चलाइरहेको आम आदमी पार्टीको संसदीय दलको बैठकले आतिशीलाई नयाँ नेता चयन गरेको हो । मंगलबार विधायक दलको बैठकले आतिशीको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको मन्त्री गोपाल राईले जानकारी दिए । त्यसअघि मुख्मन्त्री केजरीवालले राजीनामाको घोषणा गरेका थिए ।

राईले आतिशी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्ने बताए । उनले भने, ‘भाजपाले आम आदमी पार्टीलाई तोडेर सरकार ढाल्ने प्रयास गरेको छ । तर, हामीले उनीहरुको सबै प्रयासलाई विफल बनायौं ।’

केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको शिक्षा लगायतका महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । केजरीवालले पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेदेखि नै यो पद कसले लिने भन्ने चर्चा चलेको थियो । अब केजरीवालले दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर राजीनामा बुझाउनेछन् ।

अरविन्द केजरीवाल १३ सेप्टेम्बरमा तिहाड जेलबाट रिहा भएका थिए । उनी मदिरा नीति घोटाला प्रकरणमा आरोपमा जेलमा थिए ।