काठमाडौँ । बुधबार करिब ९० मिनेटसम्म चलेको राष्ट्रपतीय बहसमा कमला ह्यारिस र ट्रम्पले एकअर्काको नीतिको चर्को आलोचना गरेका छन्। 'द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेटुको समापनमा ह्यारिसले अमेरिकाको भविष्यबारे आफू र ट्रम्पको धारणा पूर्ण भिन्न रहेको बताइन्।
ह्यारिसले भनिन्: मेरो ध्यान भविष्यमा छ भने ट्रम्प विगतमा अड्किएका छन्। उता ट्रम्पले ह्यारिसको नीतिको कुनै अर्थ नभएको भन्दै उनले विगत चार वर्षमा (उपराष्ट्रपति भएर) केही हासिल गर्न नसकेको टिप्पणी गरे।
ट्रम्पले भने: हाम्रो देश विनाशको बाटोमा छ, सारा संसार हामीलाई हेरेर हाँसिरहेको छ। उनले थपे: ह्यारिसले नोभेम्बरमा चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध हुने सम्भावना छ। बीबीसीका अनुसार बहसमा ह्यारिस हावी भइन्। बहस बढ्दै जाँदा ह्यारिसले ट्रम्पलाई रक्षात्मक अवस्थामा जान बाध्य पारिन्। ट्रम्प ह्यारिसको आलोचना खेप्न र आरोपको जवाफ दिन बाध्य भए। ह्यारिसले ट्रम्पलाई 'कमजोर' भनिन्।
ह्यारिसले भनिन्: विदेशी नेताहरू उनलाई देखेर हाँस्छन्। ट्रम्पको र्यालीमा मानिसहरू दिक्क लागेर बीचमै हिँड्छन्। अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ। जसमा डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकनबाट डोनाल्ड ट्रम्प उम्मेदवार छन्।