काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म रावायणले दर्शकको उत्साहजनक साथ पाएको छ । शुक्रबार र शनिबार धेरै हल हाउसफुल भएको निर्माण पक्षको दाबी छ। आइतबार भने दर्शकको चापमा कमी आएको छ ।
फिल्मका कलाकारहरू दर्शकसँग साक्षात्कार गर्न काठमाडौंका हल–हलमा छन्। कलाकारलाई देखेपछि तस्बिर खिचाउन दर्शकको भिड देखिएको थियो।
हाउसफुल भएको दाबी गरिए पनि फिल्मको ग्रस कलेक्सन भने निर्माण टिमले सार्वजनिक गरेको छैन। काठमाडौं, भक्तपुर र ललितपुरका केन्द्रमा रहेका हलमा पनि बुकिङ खासै देखिएको छैन । ललितपुरको लाविम, सुन्धाराको सिभिल र भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्सका हलमा दर्शकले खासैधेरे बुकिङ गरेको देखिएको छैन ।
७ः४५ बजेको लाविममा शोमा ‘रावायण’का दुईवटा टिकट मात्रै बुकिङ भएको छ । ५ बजेको शो मा १४ र सवा ३ बजेको शो मा जम्मा ३३ वटा टिकट बुकिङ भएको छ ।
सिभिल मलको हलमा ७ बजेको शोमा ५ वटा टिकट बिक्री भएको छ । ४९९ सिटक्षमता भएको हलमा जम्मा पौने २ बजेसम्म जम्मा ५ वटा टिकटमात्रै बिक्री भएको हो ।
सुदर्शन थापाको निर्देशनमा तयार यो फिल्ममा पूजा शर्मा निर्मात्री समेत हुन्। फिल्ममा प्रमोद अग्रहरी, प्रियंका कार्की, अर्जुनजंग शाही, शर्मीला मल्ल लगायतका कलाकारहरूको समेत अभिनय छ।