कांग्रेस केन्द्रीय समिति बैठक आज

महामन्त्रीद्वयको प्रतिवेदनमाथि कैँची लाग्ने निश्चित

महामन्त्रीद्वयको प्रतिवेदनमाथि कैँची लाग्ने निश्चित

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति जुट्न नसकेपछि भदौ १२ गते बैठक बस्न सकेको थिएन।

महामन्त्री थापाले प्रस्तुत गरेकाे निर्वाचनपूर्व गठबन्धन, पार्टीको आगामी १५औं महाधिवेशनको कार्यतालिका र महामन्त्री शर्माले प्रस्तुत गरेकाे एक्जिट पोलिसीका विषयमा विवाद भएपछि भदौ १२ गते बैठक स्थगित गरिएको थियो।

महामन्त्रीद्वयको प्रस्तावलाई सर्वसम्मत रूपमा केन्द्रीय समिति बैठकबाट पारित गर्न पार्टी सभापति देउवाले शीर्ष नेताहरूसँग पटक-पटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन। महामन्त्रीद्वयको प्रस्तावप्रति संस्थापक पक्षका नेताहरूले चर्को विरोध गरिरहेका छन्।

संस्थापक पक्षका नेताहरूले महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गर्न नेतृत्वमाथि तीव्र दबाब सृजना गरेका छन्। महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउन शनिबार बसेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ। सहमति जुट्न नसकेपछि बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि सारिएको थियो।

शनिबारको बैठक बिना निष्कर्ष टुंगिए पनि महामन्त्रीद्वय थापा र शर्माले पेस गरेको प्रतिवेदन छलफलमा सहमतिनजिक पुगिएको नेताहरूको दाबी छ। आइतबार दिउँसो ३ बजे डाकिएको केन्द्रीय समिति बैठक अगाडि नै बस्ने शीर्ष नेताको बैठकमै विषय टुंगो लगाउने कांग्रेसको तयारी छ।