नयाँ दिल्ली । भारतस्थित आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा बुधबार दिउँसो २:१५ मा आगलागी भएको छ।
दुर्घटनामा १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । आगलागीमा परी घाइते भएका ३६ जनालाई जिल्लाको एनटीआर अस्पतालमा भर्ना गरिएको जनाइएको छ।
अच्युतपुरम सेजमा रहेको फार्मा कम्पनी एस्सेन्टियाको प्लान्टमा आगलागी भएको हो । प्रत्यक्षदर्शीले पहिले कम्पनीको रिएक्टर नजिकै आगो देखेपछि ठूलो विष्फोट भएको बताए । विष्फोटले भवनको पहिलो तल्लाको स्ल्याब भत्किएको छ ।
कारखानामा दुई सिफ्टमा ३ सय ८१ जनाभन्दा बढी कर्मचारी काम गर्ने भएकाले घाइतेको सङ्ख्या बढी हुन सक्ने स्थानीयले बताएका छन् । घटना हुँदा अधिकांश कर्मचारी खाजा खान गएको समय परेको थियो।
पहिलो तल्लाबाट दोस्रो तल्लामा सोल्भेण्ट तेल पम्प गर्ने क्रममा चुहावट भई आगलागी भएको अधिकारीहरुले बताएका छन् । यसले ५०० किलोलिटरको क्यापेसिटर रिएक्टरमा विस्फोट गराएको दैनिक भास्करमा उल्लेख छ ।
आन्द्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले घटनाको उच्चस्तरीय छानबिन गरिने बताएका छन् । कारखाना व्यवस्थापनको लापरवाही देखिए कडा कारबाही हुने उनको भनाइ छ ।
मुख्यमन्त्रीले घाइतेलाई आवश्यक परे एयर एम्बुलेन्समार्फत अन्य अस्पतालमा लैजान निर्देशन दिएका छन् । स्वास्थ्य सचिवलाई घटनास्थलमा पठाइएको छ । मुख्यमन्त्रीले आज कारखानाको निरीक्षण गर्ने र मृतकका परिवार तथा घाइतेलाई भेट्न अस्पताल पनि जाने जनाइएको छ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।