प्रतिकूल मौसमले उडान प्रभावित

प्रतिकूल मौसमले उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहेको बताए । अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको उनले जानकारी दिए ।

“मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन,” उनले भने, “अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको छ ।”

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार, पोखरा र भरतपुरमा आज अहिलेसम्म कुनै उडान भएको छैन । वर्षा कम भएसँगै भिजिबिलिटीमा सुधार आए केही बेरपछि उडान हुने जानकारी आएको उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।