वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?

वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले यो भदौ महिनाका निम्ति ब्याजदर घटाएका छन् । सञ्चालित २० मध्ये १३ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् । चारले स्थिर राखेका छन् । दुई वाणिज्य बैंकले ब्याजदर बढाएका छन् ।

औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ०.२१ प्रतिशत विन्दुले घटेको शुक्रबार सार्वजनिक विवरणानुसार देखिन्छ । सर्वाधिक ब्याजदर घटाउनेमा नेपाल बैंक छ । यो बैंकले साउनमा मुद्दती निक्षेपमा दिँदै आएको ब्याजदर १ प्रतिशत विन्दुले घटाएको छ ।

यस्तै, प्रभु बैंकले ०.९० प्रतिशत विन्दु, नेपाल इन्भेस्टमेन्ट मेगा र माछापुच्छ्रे बैंकले ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।ब्याजदर बढाउनेमा हिमालयन र प्राइम कमर्सियल बैंक छन् । साउनको तुलनामा भदौका निम्ति यी दुवै बैंकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् ।

ग्लोबल आइएमई, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नबिल बैंकले ब्याजदर स्थिर राखेका छन् ।पछिल्ला दिनमा तरलता सहज हुँदै गएकाले बैंकहरूले ब्याजदर घटाउँदै गएका छन् । थोरै ब्याज दिएपछि बैंकमा यस्तो निक्षेप राख्न मानिस कम आउने गर्छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ । लगानीयोग्य रकम पर्याप्त भएपछि बैंकहरू निक्षेप आकर्षण गर्नतर्फ नलागेको देखिन्छ । राष्ट्र बैंकका अनुसार, हाल कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) घटेर ७९.०२ प्रतिशतसम्म झरेको अवस्था छ । राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म कायम गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनानुसार अझै बैंकहरूमा जम्मा भएको निक्षेपको करिब ११ प्रतिशत कर्जा लगानी गर्न सक्ने अवस्थामा छ ।

आउँदा दिनमा पनि ब्याजदर घट्दै जाने बैंकरले बताउँदै आएका छन् । यसले गर्दा आउँदा दिनमा धितोपत्र दोस्रो बजारमा अझै पैसा आउन सक्ने सम्भावना छ ।