काठमाडौं । सहकारी संस्थाहरूको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सुमेरू बचत तथा ऋण सहकारी संस्था, पुल्चोकका शेयरधारक राजबहादुर सिंहको बयान लिएको छ । सिंह, पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ हुन् ।
पहिलो पटक यस्तो बयान दिएको उनले बताएका छन् । बयानका क्रममा सिंहले आफूले सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्न निजी सम्पत्तिबाट व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।
समितिका सभापति सूर्य थापाका अनुसार, सिंहले सहकारीलाई पुनः सञ्चालनमा ल्याउन नयाँ सञ्चालक समूहसमेत तयार भएको जानकारी दिएका छन् । सहकारीमा बचत रकम दुरुपयोगको घटनाको विस्तृत छानबिनका लागि ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको छ ।
यो समितिमा एमाले सांसद सूर्यबहादुर थापा, सरिता भुसाल, कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, ईश्वरीदेवी न्यौपाने, राप्रपाका ध्रुवबहादुर प्रधान, माओवादी केन्द्रका लेखनाथ दाहाल, र रास्वपाका शिशिर खनाल सदस्य रहेका छन् ।
समितिले सहकारी संस्थामा भएको अनियमितताको सत्य तथ्य पत्ता लगाउन सिंहसहित अन्य सम्बन्धित व्यक्तिहरूसँग पनि बयान लिने तयारी गरेको छ ।