भिजिओल फ्लाइट रूटअनुसार नचल्दा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भयोः प्राधिकरण

भिजिओल फ्लाइट रूटअनुसार नचल्दा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भयोः  प्राधिकरण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन्। उनले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने पनि बताए।

सिभिल एभिएसनको भिजिओल फ्लाइट रूट (भिएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ।

महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गरे।

उनले भने, ‘टावरबाट सम्पर्क बिच्छेद हुने बित्तिकै हामीले प्रोसिड्युअर अनुसार नै खोजी गर्‍यौं। जबसम्म हामी क्र्यास साइट आइडेन्टीफाई गर्‍यौं, तबसम्म मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो। तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउने बित्तिकै हेलिकप्टर खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो र नेपाल सरकारले यो दुर्घटना छानबिन आयोग गठन गरिसकेको अवस्थामा यसको रूटकज के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्नँ।’

उनले अगाडि भने, ‘आज बिहान हामीले माननीय मन्त्रीज्यू, सचिवज्यू, हामी गएर साइट पनि हेर्‍यौं। यसको रूटकज चाहिँ सरसर्ती हेर्दाखेरी यद्यपि यो छानबिन आयोगले नै बताउला। ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ। यो चाहिँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएसनको भिजिओल फ्लाइट रुट अनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो। यो कानूनले वर्जित गरेको विषय हो। यो रूटकज भनेको चाहिँ भिएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा। यसको डिटेल इन्भेष्टिगेसन त सरकारले गठन गरेको आयोगले नै बताउला।’

साउन २३ गते बुधबार (हिजो) सो हवाई जहाज दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो।