यस्तो रहेछ एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पर्नुको कारण

यस्तो रहेछ एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पर्नुको कारण

काठमाडौँ । खराब मौसमका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको बताइएको छ । दुर्घटनास्थलको भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको जस्तो देखिएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले जानकारी दिए । 

उनका अनुसार दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । हेलिकप्टर कुनै पहाडमा ठोक्किएको नदेखिएको भन्दै उनले दुर्घटनास्थल बरु खोँचजस्तो ठाउँ रहेको बताए । 

 ‘कतिपयले जहाजमा पहाडमा ठोक्किएको भनेका छन् । तर भौगोलिक अवस्था हेर्दा त्यस्तो होइन ।  कुहिरोका कारण जहाज तलबाट आएर दुर्घटना भएकोजस्तो हुनसक्छ’, उनले भने। 

उनका अनुसार जहाज गुर्जे भन्ज्याङबाट सूर्यचौर नपुग्दैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा सबार सबै ५ जनाको शव फेला परेको उनले   जानकारी दिए । 

एयर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उडेको उक्त हेलिकप्टर लगत्तै सम्पर्क विच्छेद भएको जानकारी दिएको छ ।