१४ दिनको अन्तरालमा हवाई दुर्घटनामा २३ जनाको मृत्यु, ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

१४ दिनको अन्तरालमा हवाई दुर्घटनामा २३ जनाको मृत्यु, ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ । साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको १४ दिनको अन्तरालमा नेपाली आकाशमा अर्को हवाई दुर्घटना भएको छ । बुधबार काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुर गाउँपालिकास्थित सूर्यचौरमा दुर्घटनाग्रस्त हुन पुगेको हो ।

हेलिकप्टरमा सवार पाइलटसहित ५ जनाको यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । 

यसअघि यही साउन ९ गते काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज उडान भर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । जुन दुर्घटनामा १८ जनाको (पाइलट बाहेक) मृत्यु हुन पुगेको थियो । योसँगै १५ दिनमा हवाई दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ पुगेको छ ।

यो समाचारसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।  हेलिकप्टर दुर्घटनाकाबारे राहतको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका छन्। सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर सुनेका थिए। 

लगत्तै उनले भेटघाट संक्षिप्त बनाए। प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए।