नेकपा केन्द्रीय कमिटी बैठक : राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि समूहगत छलफल हुदै

नेकपा केन्द्रीय कमिटी बैठक : राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि समूहगत छलफल हुदै

काठमाडौं : सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा पेश गरिएका प्रतिवेदनहरुमाथि समूहगत छलफल हुँदैछ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा चलिरहेको बैठकमा हिजो (बुधबार) प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सो प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई विभिन्न १५ वटा समूहहरुमा विभाजन गरिएको थियो। दोस्रो दिन को बैठक बिहिबार बिहान ११ बजेबाट सुरु भएको छ। पार्टी एकतापछि पहिलोपटक बसेको कार्यसूचीसहितको पूर्ण बैठकमा केन्द्रीय कमिटीका ४४१ सदस्यको सहभागिता रहेको छ।

आजको बैठकमा सातै प्रदेशका संयोजकले आ–आफ्नो प्रदेश कमिटीको साङ्गठनिक प्रतिवेदन पनि पेश गर्ने कार्यसूची छ। केन्द्रीय सदस्यहरुको समूहले आजदेखि यी प्रतिवेदनहरुमा छलफल शूरु गर्ने नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि छलफल गरी यी समूहहरुले आइतबारको बैठकमा निस्कर्ष प्रस्तुत गर्नुपर्नेछ। वर्णानुक्रमअनुसार बनाइएका १५ समूहरुहरुका नेताहरुले बैठकसत्रमा २० मिनेटभित्र प्रतिवेदनमाथि लिखित टिप्पणी गरिसक्नुपर्नेछ।

यसैगरी, बैठकमा केन्द्रीय विभागका अध्यक्षहरुलाई समेत बोल्न दिइनेछ। कार्यविधिअनुसार समूहगत छलफलमा उठेका विषयमा आइतबार निश्कर्ष प्रस्तुत गरेपछि दस्तावेज पारित हुनेछ। त्यससँगै केन्द्रीय कमिटी बैठक सम्पन्न भएको घोषणा गरिनेछ।