बुटवल। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काइदिएपछि आइतबार सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।
स्थानीयबासीका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे सादा पोसाकमा आएका १५ जना र हतियारसहितका अन्य ६० जना गरी ठूलो सङ्ख्यामा आएका एसएसबीका जवानहरू सुस्ता गाउँपालिका–५ स्थित थारू टोल पुगेका थिए।
उनीहरूले नेपाली भूमिमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध जबरजस्ती भत्काइदिएका हुन्। भारतीय सुरक्षाकर्मीले बाँध भत्काउन थालेपछि स्थानीयले विरोध गरे पनि हतियारसहित उपस्थित ठूलो टोलीसामु उनीहरूको केही लागेन।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार भारतीय एसएसबी दुई देशको सीमा मानिने सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ अतिक्रमण गरी छिरेका थिए। बाँध भत्काउने क्रममा स्थानीयबासी र भारतीय सुरक्षा फौजबीच चर्को विवादसमेत भएको थियो। यसअघि गत असारमा पनि भारतीय पक्षले सुस्तामा प्रवेश गरी बाँध निर्माण रोक्न दबाब दिएका कारण सो कार्य प्रभावित बनेको थियो।
स्थानीयबासी मुन्ना खाँले सीमा स्तम्भको अभाव, नारायणी नदीले पटक-पटक धार परिवर्तन गर्नु र भारतीय पक्षबाट हुने निरन्तरको हस्तक्षेपका कारण सुस्तामा वर्षौँदेखि सीमा विवाद दोहोरिँदै आएको बताएका छन्।
घटनापछि परिस्थिति थप बिग्रिन नदिन र सुरक्षा व्यवस्था कडा पार्न नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) लाई घटनास्थलमा परिचालन गरिएको छ। नेपाली सुरक्षा निकायले घटनाको सूक्ष्म अनुगमन गर्दै थप विवरण संकलन गरिरहेको जनाएको छ।