नयाँ दिल्ली । भारतको केरला राज्यको वायनाड जिल्लामा भारी वर्षापछि गएको पहिरोमा परेर हालसम्म ८ जनाको मृत्यु भएको पुष्टि भएको छ। पहिरोमा सयौं मानिस पुरिएको आशंका गरिएको समाचार भारतीय सञ्चारमाध्यममा रहेको छ ।
वायनाड जिल्लाको मेप्पडी, मुन्डक्काई टाउन र चुरल मालामा मंगलबार बिहान पहिरो गएको थियो। स्थानीय सञ्चारमाध्यमहरुले भने पहिरोमा परेर १२ जनाको मृत्यु भएको जनाएको छ। आधिकारिक रूपमा भने एक बालकसहित आठ जनाको मृत्यु भएको पुष्टि भएको जनाइएको छ ।
पहिरोमा परी घाइते भएका ५० जनालाई अस्पताल भर्ना गरिएको छ । भीषण वर्षाका क्रममा बिहान करिब १ बजे मुण्डक्काई टाउनमा पहिलो पहिरो गएको हो । मुण्डक्काईमा उद्धार कार्य जारी नै रहँदा बिहान ४ बजे चुरलमालास्थित विद्यालय नजिकै दोस्रो पहिरो खसेको एबीपी समाचारमा उल्लेख छ । पहिरोका कारण शिविरका रुपमा सञ्चालित विद्यालय र आसपासका घर र पसलमा पानी र हिलो भरिएको छ । अहिले उद्धार कार्य जारी छ ।