गलत काम गर्ने संस्थालाई सरकारले छोड्दैन

गलत काम गर्ने संस्थालाई सरकारले छोड्दैन

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारको नीति तथा कार्यक्रमको परिधिभित्र मात्र काम गर्न गैर सरकारी संस्थालाई निर्देशन दिनुभएको छ । गोगो फाउन्डेशनले यहाँ आज आयोजना गरेको ‘नेपालका नागरिक संस्थामा असल अभ्यासका सूचक’ विषयको अन्तक्र्रियामा मन्त्री गुरुङले गैरसरकारी संस्थाले संविधान, कानून र सरकारको नीति तथा कार्यक्रमभन्दा बाहिर गएर काम गरेको खण्डमा कडा कारवाही गर्ने चेतावनीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, “सामाजिक सङ्घसंस्थाले मुलुकलाई समृद्ध बनाउने सरकारको राष्ट्रिय सङ्कल्पलाई पूरा हुने गरी काम गर्न आग्रह गर्दछु ।” मन्त्री गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न गैरसरकारी संस्थाले पनि सरकारसँग साझेदारी गर्नुको विकल्प नभएको भन्दै सरकारको नीति तथा कार्यक्रममा समावेश नभई एक्लौटे ढङ्गबाट अघि बढेको खण्डमा ती सङ्घसंस्थालाई सरकारले नियन्त्रणमा लिने बताउनुभयो ।