काठमाडौं । सरकारले छोटा भिडियो सेयर गर्न मिल्ने प्लेटर्फम टिकटकमाथि प्रतिबन्ध लगाएको करिब नौ महिना भयो । सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै तत्काली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत वर्ष कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
त्यसयता टिकटकले पटक–पटक नियमानुसार काम गरिरहेको भन्दै आग्रह गर्दा समेत सरकारले प्रतिबन्ध हटाएको छैन । सरकारको प्रतिबन्ध कायमै रहँदा पनि केही प्रयोगकर्ताले टिकटकमा चलाइरहेको बताउँदै आएका छन् ।
अनौपचारिक रूपमा केही इन्टरनेट सेवाप्रदायकबाट टिकटकमा पहुँच दिइएको यसबाट बुझ्न सकिन्छ । सरकारले भने प्रतिबन्ध हटाउने निर्णय गरेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारे सरकार (मन्त्रिपरिषद्)बाट कुनै निर्देशन नआएको जनाएको छ । प्रतिबन्ध हटाउनेबारे मन्त्रिपरिषद्ले नै निर्णय गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीको भनाइ छ ।
अघिल्लो सरकारले गरेको निर्णय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले हेरफेर गर्न सक्ने अपेक्षा गरिएको छ । दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले सरकारले टिकटक प्रतिबन्ध गर्दा राजस्व घुमेको समेत टिप्पणी गरेका छन् ।
सरकारी अधिकारी र टिकटकका प्रतिनिधिबीच यसअघि भेटवार्ता भएको थियो । त्यति बेला सरकारी पक्षले नेपाली भाषाका अश्लील, हिसांत्मक र सामाजिक सद्भाव भड्काउने किसिमका कन्टेन्ट फिल्टर वा हटाउन सकिने भएपछि प्रतिबन्ध फुकुवा गर्ने भनाइ राखेको थियो ।
टिकटकले केही दिनअघि सन् २०२४ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै टिकटकलाई विश्वकै निम्ति सुरक्षित बनाउन लागिपरेको जनाएको थियो ।
उक्त रिपोर्टमा टिकटकले २०२४ को पहिलो तीन महिनामा अपलोड गरिएका १६ करोड ६९ लाख ९७ हजार ३०७ भिडियो हटाएको उल्लेख गरेको छ । कम्युनिटी गाइडलाइन्सविपरीतका यी भिडियो र ९७ करोड ६४ लाख ७९ हजार ९४६ त्यसका कमेन्ट हटाएको रिपोर्टमा छ । यसरी टिकटकले प्लेटर्फमलाई सुरक्षित बनाउन निरन्तर काम गरिरहेको जनाएको छ ।