होटलको कोठामा छ जना विदेशीको शव फेला, विष खुवाइएको आशंका

होटलको कोठामा छ जना विदेशीको शव फेला, विष खुवाइएको आशंका

बैङ्कक । थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले मङ्गलबार मध्य बैङ्ककको एक लक्जरी होटलको कोठामा छ जना विदेशी नागरिक मृत पाइएको बताएका छन्। प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ। 

 प्रधानमन्त्री श्रेथाले पथुम वान जिल्लाको ग्रान्ड हयात इरावन होटलमा पत्रकार सम्मेलनमा भने, 'उनीहरूले केही खाएका थिए कि भन्ने आशंका छ किनभने त्यहाँ धरपकडको कुनै संकेत थिएन। ' उनले उनीहरूको मृत्यु चोरीसँग सम्बन्धित थियो र गोलीबारी भएको थियो भन्ने हल्लालाई इन्कार गरे।

प्रधानमन्त्रीका अनुसार मृतक छ जना भियतनामी थिए। तीमध्ये दुई जनासँग दोहोरो अमेरिकी राष्ट्रियता थियो। सफाई कर्मचारी पाँचौँ तलामा कोठा मिलाउन  पुग्दा शव प्राप्त भएको र प्रहरीले साँझ साढे चार बजे सूचना पाएको थियो। केही समयपछि प्रधानमन्त्री श्रेथा घटनास्थलमा पुगेका थिए। उनले उक्त घटनामा अर्को कुनै भियतनामी नागरिक संलग्न रहेको हुन सक्ने आशंका गरे। 

'कर्मचारीहरूले शव फेला पारेपछि उनीहले होटलका अधिकारीहरूलाई र त्यसपछि प्रहरीलाई सूचित गरे',बैङ्ककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङले भने। उनका अनुसार प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै सङ्केत पाइएको छैन। उनले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गरेका छन्।