नेकपामा सभामुख सापकोटाको राजीनामापछि शिवमाया केन्द्रीय सदस्य बन्ने निश्चित

काठमाडौं : नेकपा केन्द्रीय कमिटीको बैठकमा पार्टी एकीकरणको डेढ वर्षपछि पहिलोपटक बस्न लागेको सदस्यहरुले नेतृत्वको चर्को आलोचना गर्ने देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड साझा धारणाका साथ प्रस्तुत हुने तयारीमा रहेका छन् ।

स्थायी कमिटी बैठकमा सहभागी नभएका अध्यक्ष तथा प्रधानमन्त्री ओली बुधबारबाट सुरु हुने बैठकमा भने उपस्थित हुँदैछन् । बैठकको सुरुमै प्रधानमन्त्रीले केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्ने कार्यसूची छ । दुवै अध्यक्षका तर्फबाट अर्का अध्यक्ष प्रचण्डले स्थायी कमिटीबाट परिमार्जनसहित पारित भएको राजनीतिक प्रतिवेदन तयार पार्दैछन् ।

केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा अन्य तयारीका लागि मंगलबार अपरान्ह सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकले अध्यक्षहरुको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको सांगठानिक कार्ययोजना पारित गरेर केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने नेकपा स्रोतले जनाएको छ ।

४४५ सदस्यीय केन्द्रीय कमिटीको बैठक राष्ट्रिय सभागृहमा बस्ने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । त्यसका लागि निश्चित संख्या तोकेर केन्द्रीय सदस्यहरुको समूह बनाइने र समूहगत छलफलका निष्कर्ष र सुझाव एकजनाले बैठकमा प्रस्तुत गर्ने विधि अपनाइने भएको छ । केन्द्रीय कमिटी बैठकपछि पार्टीले विशेष अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको छ ।यसैबीच उपसभामुखबाट राजिनामा दिएपछि पुनः पार्टी काममा फर्किएकी शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय कमिटीमा पुनस्र्थापित गरिने सम्भावना रहेको नेताहरु बताउँछन् ।

तत्कालीन एमालेको निर्वाचित केन्द्रीय सदस्य रहेकी तुम्बाहाङ्फे उपसभामुख निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् । सभामुख अग्निप्रसाद सापकोटाले सम्भवतः आजभोलिमै पार्टीको जिम्मेवारीबाट राजीनामा दिनेछन् । रिक्त रहेको केन्द्रीय सदस्य पदमा तुम्बाहाङ्फेलाई पुनस्र्थापित गर्नेबारे नेताहरुबीच छलफल हुने नेकपा स्रोतले जनाएको छ ।