फोहोरमा भेटाएको विष खाँदा चार वर्षीया बालिकाको मृत्यु

फोहोरमा भेटाएको विष खाँदा चार वर्षीया बालिकाको मृत्यु

गुल्मी । गुल्मीमा मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा एक बालिकाको ज्यान गएको छ ।  जिल्लाको इस्मा गाउँपालिका १ ठाँटीकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मुसा मार्न प्रयोग हुने मलहम सेबन गर्दा सोही गाउँकी  अर्की बालिका गम्भीर बिरामी भएकी छन् । बसन्धुरा सुनारकी पाँच वर्षीया छोरी दिपसिखा सुनार गम्भीर बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका  प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।       

बुधबार दिउँसो आमाले प्रिन्सा र दिपसिखालाई लिएर घर नजिकैको बारीमा कोदाको झार गोड्न गएका थिए । त्यही समयमा बालिकाले फोहोरसँगै फालेको  विष सेवन गरेपछि बान्ता गरेका थिए। विष सेवन गरेको थाहा पाएपछि परिवारले उपचारका सदरमुकामस्थित गुल्मी अस्पतालमा ल्याएका हुन् ।

अस्पतालले बिहीबार बिहान प्रिन्साको उपचारका क्रममा  मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । विष सेवनपछि गम्भीर बिरामी भएकी दिपसिखालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास पठाइएको छ ।