काठमाडौँ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई तीन महिना निलम्बनको कारबाही गरेको छ । असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ ।
निलम्बनमा पर्नेहरुमा विशेश्वरप्रसाद (वीप)साह राष्ट्रिय सचिव, रामेश्वर यादव केन्द्रीय सदस्य, कृष्णचन्द्र साह मिर्चैया नगरपालिका सचिव, अरविन्द सहनी पुर्वजिल्ला अध्यक्ष, धिरज कामती साधारण सदस्य, अनिता कुमारी यादव वडा प्रत्याशी र दिपनारायण यादव पूर्व नगरपालिका सचिव रहेको सो पार्टीका अनुशासन विभाग समितिका सचिव अनिताकुमारी मण्डलले जनाएकी छन् । उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ ।
पार्टीको नीति नियम र ऐन कानुन विपरितका गतिविधि गरेको आरोपमा उनीहरुलाई कारबाही गरिएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।