चौधौँ महाधिवेशनको तीब्र तयारी गर्दै काँग्रेस

काठमाण्डौ : नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ । काँग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

काँग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले गाउँ÷नगर वडा अधिवेशन २०७७ साल मङ्सिर ९ गते, गाउँ÷नगरपालिका अधिवेशन मङ्सिर ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर १७ गते, जिल्ला अधिवेशन मङ्सिर २५ गते, प्रदेश अधिवेशन पुस १५ गते र केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिको सो बैठकले बहुमतका आधारमा उक्त निर्णय गरेपछि पार्टीमा आन्तरिक विवाद उत्पन्न भएको थियो । विवाद समाधानका लागि शीर्ष नेताहरुले सोबारेमा यही माघ १० गते सहमति गरेका थिए ।

सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा गत शुक्रबार भएको शीर्ष नेताहरुको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन तोकिएको मितिमै गर्ने तथा केन्द्रीय महाधिवेशन अघि विभिन्न तहका अधिवेशनसम्बन्धी कार्यतालिका र कार्यविधि परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने सहमति गरेको थियो ।

साथै पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने, छ महिनाभित्र महाधिवेशन गर्ने गरी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति गठन गर्नेलगायतका सहमति गरी उक्त सहमति केन्द्रीय समिति बैठकबाट सर्वसम्मतिले पारित गर्ने निर्णय भएको थियो । शीर्ष नेताबीचको सहमति भएको झण्डै डेढ महिनापछि आज वरिष्ठ नेता पौडेल पक्ष पनि केन्द्रीय समिति बैठकमा सहभागी हुँदैछ