प्रचण्डकै अस्थिर चरित्रले सरकार ढल्यो, अल्पमतमा परेपछि राजीनामा दिनुपर्छः गगन थापा

प्रचण्डकै अस्थिर चरित्रले सरकार ढल्यो, अल्पमतमा परेपछि राजीनामा दिनुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट रुपमा अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। 

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले संविधान अनुसार विश्वासको मत लिने अधिकार प्रधानमन्त्रीलाई भएपनि अल्पमतमा परेपछि  प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।

समावेशी र समानुपातिक प्रतिनिधित्व लगायतका विषयका साथै संघियतालाई कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्ने आवश्यकता विगत ७ वर्षमा सबैले महसुस गरेकाले संविधान संसोधन गर्न लागिएको उनको भनाई छ। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर अझै मजबुत बनाउने उद्देश्यले नेपाली कांग्रेस र एमाले बीच नयाँ सहकार्य शुरु गरिएको पनि उनले बताए।

त्यस्तै थापाले एमालेसँगको नयाँ गठबन्धन बनाइसकेपछि पनि प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्रका कारण उनको नेतृत्वको सरकार ढलेको स्पष्ट पारे। संविधान संशोधनका लागि नेपाली कांग्रेस र एमालेका संख्याले मात्र नपुग्ने भएकाले अन्य दलहरु सहितको राष्ट्रिय सहमतिको सरकार बनाउने उनको भनाइ छ।