प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं। नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतीक थापालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। न्यायाधीश सकुन्तला कार्कीको इजलासले थुनामा पठाउन आदेश दिएसँगै थापालाई केन्द्रीय कारागार पठाइएको छ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो। नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनी फरार थिए।

उक्त प्रकरणमा पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए। निरज राई हालसम्म फरार रहेका छन्। थापा भने लामो समयपछि पक्राउ परेका हुन्।

बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा विचौलियाको सूचीअनुसारको नामहरु थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै कीर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको भन्दै प्रहरीले अनुसन्धान गरेको थियो।