सत्ता समीकरणमा संकट, बिहानै बालुवाटार पुगे ओली, प्रचण्डसँग के भयो कुराकानी ?

सत्ता समीकरणमा संकट, बिहानै बालुवाटार पुगे ओली, प्रचण्डसँग के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले भनिन्, ‘दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउने विषयमा केन्द्रीत भएर छलफल भएको हो।’

प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनसहितका विषयमा छलफल र समझदारी हुने बताइएको छ। एमाले अध्यक्ष ओली पछिल्लो एकहप्ता यता नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा छन्। देउवा र ओलीबीचको सम्वादलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

शनिबार भएको ओली देउवाबीचको भेटमा सहकार्यका विभिन्न पाटोबारे छलफल भएको बाइएको छ । देउवाले ओलीलाई नयाँ गठबन्धन बनाउन र पहिलो कार्यकाल प्रधानमन्त्री बन्न अफर गरेका थिए । 

देउवाको प्रस्तावपछि थप गृहकार्यका लागि ओलीले दोस्रो तहका नेताहरुलाई खटाएका छन् । कांग्रेस र एमालेबीचको यो निकटताले माओवादी केन्द्र र रास्वपामा छटपटि बढेको छ । 

फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच संवादको नयाँ चरण सुरु भएको नेताहरूको भनाइ छ । तर, दुवैतर्फका नेताले सरकार मात्र होइन, राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा समेत छलफल गर्दै आएका थिए । सुरुमा दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएको भन्दै देउवा र ओलीको भेट बाक्लिएको छ ।

मूल विषयमा सहमति भएमा सरकार कसरी चलाउने भन्नेमा पनि दुई दलबीच करिब–करिब समझदारी भएको कांग्रेस नेताहरूको भनाइ छ ।