एकीकृत समाजवादीको दस्ताबेजमा आफूलाई अस्थिर भनेकोप्रति प्रधानमन्त्रीको असन्तुष्टि

एकीकृत समाजवादीको दस्ताबेजमा आफूलाई अस्थिर भनेकोप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) को राजनीतिक दस्ताबेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै आपत्ति जनाएका छन्।

आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन्। उनले विभिन्न राजनीतिक शक्तिहरुको मूल्यांकन गर्दा नेकपा (माओवादी केन्द्र) लाई नजिकको शक्ति र आफूलाई अस्थिर भनेको भन्दै आपत्ति जनाए। उनले राजनीतिक दलको भन्ने अधिकारमाथि प्रश्न उठाउने कुरा नहुने भन्दै पुनःविचार गर्न भने आग्रह गरे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र आफू अलिकति अस्थिर नभएको भए सम्भव नरहेको पनि बताए। उनले आफू अस्थिर नभएको भए जनयुद्ध नै नहुने जिकिर गरे। उनले आफू केही अस्थिर भएकाले नै अहिले समृद्धिको अभियान चलेको दाबी गरे।

उनले गतिशिलता भनेको के हो? द्वन्द्वात्मक भौतिकवाद हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ, प्रक्रियामा हुन्छ भनेको के हो? भन्दै प्रश्न गरे। उनले एक ठाउँमा ठोक्किएर बसिराख्नु मार्क्सवाद नभइ गड्गडाउँदो नदी जस्तो भएर हुर्रिनु नै मार्क्सवाद भएको बताए। उनले मार्क्सवाद जमेको पोखरी जस्तो नभएको बताए। उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निस्कर्ष निकाल्नु मार्क्सवाद भएको बताए।


प्रधानमन्त्री दाहालले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) अहिले पनि समाजवादी मोर्चामा सँगै रहेको र मोर्चा हुँदै कम्युनिष्ट आन्दोलनको एकता कायम गर्ने उद्देश्यमा समान धारणा रहेको बताए। कम्युनिष्टहरुले निराशावादी भएर सोच्न नहुने बताए।