ओलीसँग विद्रोह गरेर ठीक गर्‍याैं, नत्र गल्लीमा भड्किरहनुपर्ने स्थिति बन्थ्योः माधव नेपाल

ओलीसँग विद्रोह गरेर ठीक गर्‍याैं, नत्र गल्लीमा भड्किरहनुपर्ने स्थिति बन्थ्योः माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विद्रोह गरेर पार्टी निर्माण गरेको औचित्य पुष्टि भएको बताएका छन् ।

आज (शुक्रबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन समयमा विकल्प नै नभएपछि विद्रोह गरेको बताए । अध्यक्ष नेपालले देशको संविधान बचाउन र राजनीतिक स्थिरताका लागि विद्रोह गरेको बताए ।


‘कसै–कसैले प्रश्न खडा गर्छन्, विद्रोहको औचित्य के छ ? विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर हामीले संविधान बचायौं, राजनीतिक स्थिरता कायम गर्यौं । हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउनका लागि भूमिका निर्वाह गर्यौं । अत्यन्तै सही काम गर्यौं । कम्युनिष्ट आन्दोलनलाई जोगायौं । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौं, आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनका लागि फेरि पनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि पनि हामीले नयाँ पार्टी निर्माण गर्नुपर्ने काम पनि गर्यौं,’– उनले भने ।


तत्कालीन अवस्थामा केपी ओलीसँग आत्मसमपर्ण गर्न नसकेपछि विद्रोह गर्नुपरेको उनको भनाइ छ । उनले भने,‘ नयाँ पार्टी निर्माण गरेर, विद्रोह गरेर न्यायोचित काम गर्यौं । नभए हामी हराइसकेका हुन्थ्यौं । हामीले गल्लीमा भड्किरहनुपर्ने स्थिति बन्थ्यो । आत्म समर्पण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ती सबै कुरालाई स्वीकार गरेनौं ।’