रास्वपाको अवस्था 'संककटग्रस्त' चित्रण गर्ने प्रतिवेदनपछि पार्टीभित्र कस्तो तरंग?

रास्वपाको अवस्था 'संककटग्रस्त' चित्रण गर्ने प्रतिवेदनपछि पार्टीभित्र कस्तो तरंग?

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीले गएको वैशाखमा सम्पन्न उपनिर्वाचनको परिणामपछि स्थलगत अध्ययन गरी तयार पारेको राजनीतिक समीक्षा प्रतिवेदनमा पार्टीको अवस्था "अत्यन्तै निराशाजनक" रहेको जनाइएपछि त्यसलाई लिएर दलभित्रैबाट असन्तुष्टि प्रकट हुन थालेको छ।

पार्टीका एक उपसभापतिले प्रतिवेदनमा उल्लेख गरिएका कैयौँ धारणा महामन्त्रीका "व्यक्तिगत विचार" भएको भन्दै "अहिले नै पार्टीको समीक्षा गर्ने बेला भइनसकेको"  बताए।

बुधवार पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई महामन्त्री ढकालले जेठ ६ गतेबाट झन्डै एक महिना स्थलगत अध्ययन गरी "दलभित्र र बाहिरका ३,००० जनाभन्दा बढीसँग अन्तरक्रिया गरेर" तयार पारेको प्रतिवेदन बुझाएका थिए।

त्यसपछि संवाददाताहरूसँग कुरा गर्दै उनले रास्वपा अहिले "बिरामी अवस्थामा रहेको" र यसलाई "शल्यक्रिया" बाट उपचार गर्नुपर्ने धारणा राखेका थिए। महामन्त्री ढकाल चिकित्सक पनि हुन्।

स्थलगत भ्रमणपछि तयार पारेको समीक्षा प्रतिवेदनको निष्कर्ष सुनाउने क्रममा महामन्त्री ढकालले घण्टीमा "कालो बादल मडारिएको" उल्लेख गर्दै अहिलेको अवस्थामा "पार्टी राष्ट्रिय पार्टी मात्रै बन्न सक्ने र केही सीटहरू मात्रै जित्न सक्ने" र अवस्थामा सुधार नआए त्यो अवस्था पनि नरहने बताएका थिए।

उनले तल्लो स्तरबाट आफूले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा पनि काठमाण्डूका महानगरका प्रमुख बालेन्द्र शाहसहितका स्वतन्त्र मेयरसँग मिल्नका लागि सबैभन्दा उपयुक्त हुने सुझाव आएको जनाएका थिए।

माओवादी र एमालेसँग मिलेर रास्वपा दोस्रो पटक सत्तामा रहेको समयमा यस्ता बुँदा उल्लेख गरेर महामन्त्री ढकालले प्रतिवेदन बुझाउनुलाई धेरैले चासोपूर्वक हेरिरहेका छन्।

स्थापना भएको एक वर्ष पनि नभई संसदीय निर्वाचनमा सहभागी भएको रास्वपाको हाल प्रतिनिधिसभामा २१ सीट छ।

महामन्त्रीले पार्टी सभापतिलाई बुझाएको प्रतिवेदनमा उनका व्यक्तिगत विचार समेटिएको र त्यो पार्टीको आधिकारिक दृष्टिकोण नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रममन्त्री डोलप्रसाद अर्यालले बताए।

उनी भन्छन्, “महामन्त्रीको तर्फबाट उहाँले बाहिर जिल्ला गएर घुमेर आइसकेपछि उहाँले जे बुझ्नुभयो त्यो प्रस्तुत गर्नुभएको हो। त्यो विषयमा केन्द्रीय समितिको बैठक पनि बस्न बाँकी छ। त्यो पार्टीको धारणा होइन।”

उपसभापति अर्यालले पार्टीको केन्द्रीय समितिको बैठक बसेर निर्णय गरिने जानकारी दिँदै भने, “पार्टी दुई वर्षको मात्रै भएको छ। अहिले नै पार्टीको समीक्षा गर्ने बेला भइसकेको छैन। उहाँको धेरै व्यक्तिगत विचार छ।”

उपसभापति अर्यालले पार्टीले महाधिवेशन नै गर्न बाँकी रहेको उल्लेख गर्दै दलले कुनै सङ्कट नभोगेको बताए।

सरकारको नेतृत्व र सत्ता साझेदार दलसँगको सम्बन्धबारे ढकालले प्रतिवेदनमा उल्लेख गरेका धारणालाई पनि व्यक्तिगत विचार भनेका रास्वपा उपसभापतिले पार्टीको केन्द्रीय समितिले बैठक गरेर सो प्रतिवेदनबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।

महामन्त्री ढकालले रास्वपाबाट नागरिकले आशा गरेका भन्दै अहिले पार्टीको जनमत "एकदमै निराशाजनक" रहेको र आशा जगाउन काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका थिए।

रास्वपाका सभापति लामिछानेले भने महामन्त्रीको राजनीतिक समीक्षालाई गम्भीरतापूर्वक लिइने र दलको पछिल्लो अवस्थाको निर्मम समीक्षा गरिने जनाएका छन्।

प्रतिवेदन ग्रहण गरेपछि उनले भने, “आमनागरिकले दिएको प्रतिक्रिया हो त्यही भएर त्यो चिन्ता गर्ने कुरा स्वाभाविक हो। हामीबाट कति अपेक्षा गरिएको छ, त्यही भएर त्यो अपेक्षानुसार हामीले शल्यक्रिया नै नगरी हुँदैन भन्नु राम्रो, स्वाभाविक हो।”

उनले रास्वपा "आन्तरिक लोकतन्त्र" लाई प्रवर्धन गर्ने पार्टी भएको भन्दै सभापति लामिछानेले दलभित्रका "कमीकमजोरी नलुकाउने र निर्मम समीक्षा" गरेर अघि बढ्ने धारणा पनि राखेका थिए।

महामन्त्री ढकालले आफूले तयार पारेको प्रतिवेदनमा उल्लिखित विषय थाहा पाउने अधिकार घण्टी चिह्नमा मतदान गर्ने ११ लाखभन्दा बढी नागरिकको भएको उल्लेख गर्दै त्यसलाई सार्वजनिक गर्न पनि माग गरेका छन्।

महामन्त्री ढकालले प्रतिवेदनका निष्कर्षका केही बुँदाहरू सार्वजनिक गरेसँगै त्यसले रास्वपाभि‍त्र पनि विभिन्न प्रतिक्रियाहरू निम्त्याइएको छ।

उक्त दलका नेता सन्तोष परियारले महामन्त्रीले राजनीतिक र सङ्गठनात्मक प्रतिवेदन तयार पार्ने सिलसिलामा यो समीक्षा तयार पारेको उल्लेख गर्दै पार्टीका सबै पक्षका बारेमा दलभित्र छलफल हुनु स्वाभाविक भएको बताए।

उनी भन्छन्, “उहाँले तयार पारेको प्रतिवेदनमा छलफल गरेर नेताहरूले दृष्टिकोण ल्याउनु एउटा कुरा हो। तर छलफल हुनुअघि नै प्रतिवेदन यस्तो हो भनेर आएपछि हामीलाई अलिकति अप्ठ्यारो लागेको हो। विधिपद्धतिमा नभएपछि जतिसुकै राम्रो कुरा आएपनि ती राम्रा हुँदैनन्। उहाँले जे ल्याएको भए पनि त्यसमा पार्टीभित्र छलफल हुन्छ।”

उनले पार्टीले अपेक्षा गरेको गतिमा सङ्गठन निर्माणको काम अघि बढाउन नसकिरहेको स्वीकार गर्दै पार्टीको केन्द्रबाट नै कैयौँ काम हुन नसकेको आफूहरूले महसुस गरेको बताए।

“हामी मात्रै होइन नेपालमा अन्य पार्टीहरू पनि एक खालको सङ्क्रमण र अलमलमा छन्। संसारभरि यस्तै अवस्था छ। त्योभन्दा पृथक् हामी हुन सक्दैनौँ। जुन गतिमा सङ्गठन निर्माण गर्नुपर्थ्यो, त्यो नसक्दा कमजोरी छ भन्ने सामान्य रूपमा नै देखिने कुरा भयो। तर जुन किसिमको बरबादै छ भन्ने खालको भाष्यको कुरा छ, त्यस्तो होइन। यत्रो पार्टी र संरचना छ, त्यसमाथि हामी सरकारमा पनि छौँ।”

उनले अहिलेका सत्ता सहयात्रीहरूसँग सहकार्य तत्कालै पुनर्विचार गर्ने पक्षमा आफ्नो दल नभएको बताए।

सर्वसाधारण मानिसका प्रश्न र विषयहरू आफ्नो टेलिभिजन कार्यक्रममार्फत् सोझै प्रस्तुत गरेर लोकप्रियता कमाएका रवि लामिछाने रास्वपाको स्थापना र विस्तारमा प्रमूख भूमिका देखिएको छ।

गएको वर्ष सम्पन्न उपचुनावअघि नेपाली कांग्रेसका नेता तथा अर्थविद् स्वर्णिम वाग्ले रास्वपामा प्रवेश गरेका थिए। उनी तनहुँबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी पनि भए।

मूलधारका दलहरूमाथि निराशाका बढिरहेको बेला विभिन्न पेसा र व्यवसाय गर्ने विभिन्न युवा र नयाँ अनुहारहरू आबद्ध रास्वपाको उदयलाई मानिसहरूले आाशापूर्वक हेरेका थिए।

गत वर्ष उपचुनावबाट दोस्रो पटक निर्वाचित हुनुअघि लामिछाने जोडिएको नागरिकतासम्बन्धी विवाद समाधान भएको थियो। अदालतले लामिछानेको नागरिकताको कारण देखाउँदै चितवनस्थित उनको क्षेत्रको निर्वाचन रद्द गरिदिएपछि त्यहाँ उपचुनाव भएको थियो।

तर दोहोरो राहदानी प्रयोगसम्बन्धी लामिछानेसँग जोडिएको अर्को मुद्दा अदालतमा विचाराधीन छ भने सहकारी प्रकरणमा संसदीय छानबिन चलिरहेको छ।

उनले सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको र त्यसलाई "अनावश्यक राजनीतिकीकरण" गरिएको बताउने गरेका छन्।

कतिपय नेताहरूका भनाइमा रास्वपाभित्र पार्टी नेतृत्वमा रहेका कतिपय नेताहरूका कामकारबाहीको प्रभावकारितालाई लिएर पनि मतभेदहरू छन्।

त्यो अहिले महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएका प्रतिवेदनमा समेत मुखरित भएको हुन सक्ने ठानिन्छ।

बीबीसीबाट