काठमाडाैं। मिस युनिभर्स नेपाल–२०२३ को विजेता जेन दीपिका ग्यारेट एलिजाबेथ बोहोरा सौन्दर्य प्रतियोगिताका परम्परागत मापदण्डलाई तोड्न सफल पात्र हुन्।
‘प्लस साइज’ शरीरमा निर्धक्क र्याम्पमा हिँडेर २३ वर्षीय दीपिकाले सौन्दर्य प्रतियोगिताको कथित मापदण्ड बजारको सौन्दर्यको परिभाषा नै परिवर्तन गरिन्। यही विषयलाई त्यति बेला अन्तर्राष्ट्रिय मिडियाहरुले पनि चासोका साथ प्रसारण गरेका थिए।
३६-२४-३६ साइजको शरीरलाई मात्र सुन्दर मान्ने मान्यतालाई चुनौती दिँदै मिस युनिभर्सको शीर्ष २० सम्म पुगेकी थिइन्।
सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका थिए। उनले मिस युनिभर्समा पहिलो ‘प्लस साइज मोडल’को कीर्तिमान रचिन्। उनको आत्मविश्वासको पनि चर्चा खुबै भएको थियो। खासगरि, मिस युनिभर्सको प्रारम्भिक चरणमा दीपिकाको खुबै प्रशंसा भएको थियो।