अछाममा छाउगोठमा किशोरी बलात्कृत, एक जना पक्राउ

अछाममा छाउगोठमा किशोरी बलात्कृत, एक जना पक्राउ

कैलाली । अछामको एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया किशोरी सोमबार मध्यराति बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

अछामका प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले प्रारम्भिक अनुसन्धानबाट मामा नाता पर्नेबाट किशोरी बलात्कृत भएको बताए । आरोपित १७ वर्षीय किशोरलाई पनि पक्राउ गरिसकिएको उनले जानकारी दिए ।

प्रहरीले बिहान किशोरी बेहोस अवस्थामा रहेको थाहा पाएको र छानबिन सुरु गरेको जनाएको छ । किशोरीले राति मामा नाता पर्नेले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । ‘हामीलाई किशोरी बेहोस भएको जानकारी आएको थियो पछि ती किशोरी होसमा आएपछि बलात्कार भएको कुरा बाहिर आएको हो,’ उनले भने ।

किशोरीमाथि सामूहिक बलात्कार भएको हुन सक्ने समेत प्रहरीले जनाएको छ । उनले आफूमाथि मामा नाता पर्नेले बलात्कार गरेको थाहा पाएको र त्यहाँ अरूको पनि हल्ला सुनेको बयान प्रहरीलाई दिएपछि उनीमाथि सामूहिक बलात्कार समेत भएको हुन सक्ने आधारबाट प्रहरीले अनुसन्धान गरिएको छ ।

पीडित र आरोपित दुवैको स्वास्थ्य परिक्षण गरिएको तर, रिपोर्ट अझै नआएको प्रहरीले जनाएको छ । किशोरीका आधारमा आरोपितलाई पक्राउ गरिएको र उनीसँग पनि बयान लिइरहेको प्रहरीको भनाइ छ ।