दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि कप्तान रोहितले दिए यस्तो प्रतिक्रिया

दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि कप्तान रोहितले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध एक रनले पराजित भएपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टिम जितको निक्कै नजिक भए पनि केही पर बनेको बताएका छन् । 

शनिबार बिहान वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो । ११६ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाएर ११४ रनमात्र बनाएपछि एक रनको साँघुरो हार व्यहोरेको हो ।

“म मेरो टिमप्रति गौरवान्वित छु । विशेषगरी जसरी हामी बलिङ र ब्याटिङ गर्यौं । हामीले हिजो यो पिच देखेका थियौँ र यहाँ केही स्लो हुने अनुमान थियो । हामीलाई यस पिचमा स्पिनरलाई सहज हुने लागेर कुशल भुर्तेललाई बलिङमा ल्याएका हौँ,” रोहितले भने, “हामी निक्कै नजिक थियौँ तर, अझै पनि केही पर भयौँ । हामीले अन्तिम समयमा राम्रो गर्न सकेनौँ । तर पनि राम्रो प्रतिस्पर्धा गर्यौं । यस्तै खाले आगामी खेलमा हामी जित निकाल्ने टिम बन्नेछौँ ।”

हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिने निश्चित बनेको छ । समूह ‘डी’को चौथो स्थानमा रहेको नेपालले तीन खेलबाट एक अंक जोडेको छ । चार खेलबाट आठ अंक जोडेको दक्षिण अफ्रिका भने शतप्रतिशत नतिजासहित सुपर–८ मा प्रवेश गरिसकेको छ ।