संसदीय दलको कारबाहीविरुद्ध कानुनी प्रतिवाद गर्ने फणीन्द्रको चेतावनी

संसदीय दलको कारबाहीविरुद्ध कानुनी प्रतिवाद गर्ने फणीन्द्रको चेतावनी

काठमाडौं। गण्डकी प्रदेशका मन्त्री फणीन्द्र देवकोटाले माओवादी संसदीय दलले गरेको कारबाहीको कानुनी प्रतिवाद गर्ने बताएका छन्। आज (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गरी उनले आफूलाई माओवादी संसदीय दलले प्रदेश सभा सदस्य नरहने गरी गरेको कारबाही गैर कानुनी रहेको बताएका हुन्।

‘दल फरक हो। संसदीय दल फरक हो। आज जुन धारा प्रयोग गरेर संसदीय दलले कारबारी गरेको छ। त्यो कानुनी हिसाबले र राजनीतिक हिसाबले पनि गलत छ। त्यो निन्दनीय छ। मैले कानुनी रुपमा प्रतिवाद गर्ने जानकारी गराउँछु,’ उनले भने।

साथै, आफूले निर्वाचन प्रयोजनका लागि मनोनयन दर्ता गराउँदासमेत नेपाल समाजवादी पार्टी उल्लेख गरेको बताए। आफू नेसपाबाट निर्वाचित भएको उनले दाबी गरे। ‘हामीले निर्वाचनमा गठबन्धन गर्यौं। चुनावमा गयौं। निर्वाचन प्रयोजनका लागि उम्मेदवारी दर्ता गर्दा कानुनमा व्यवस्था भएअनुसार राजनीतिक दलको नाम उल्ले गर्नुपर्ने हुन्छ। मैले उम्मेदवारी दर्ता गर्दा राजनीति दलको नाम नेपाल समाजवादी पार्टी प्रष्ट लेखेको छ। म निर्वाचनमा जाँदा हाम्रै नेपाल समाजवादी पार्टीको घोषणा पत्र रहेको थियो। मैले नेपाल समाजवादी पार्टीबाटै निर्वाचनमा भाग लिएँ,’ उनले भने।

निर्वाचन प्रयोजनका लागि दल दर्ता भएका पार्टीहरु बीचमा एउटै चुनाव चिन्ह लिएर जाने कानुनी व्यवस्थाअनुसार नै एउटै निर्वाचन चिन्ह लिएर निर्वाचनमा गएका उनको दाबी छ । माओावादी केन्द्रले कारबाही गर्ने कुरा संवैधानिक, कानुनी र राजनीतिक हिसाबले गलत रहेको उनले बताए।

गण्डकी नेकपा (माओवादी केन्द्र) ले फणीन्द्रलाई कारबाही गरेको पत्र प्रदेश सभा संसद् सचिवालयमा दर्ता गराएको थियो। उक्त पत्र आज सभामुखले प्रदेश सभामा पढेर सुनाएका थिए । सभामुखले पत्र पढेर सुनाएसँगै उनको प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन्।