४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास

४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास

काठमाडौं। न्याय सेवा आयोगले गत वैशाखमा लिएको जिल्ला न्यायाधीशको खुला परीक्षामा माग गरिएभन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएका छन्।

२०८१ वैशाख २७ देखि ३० सम्म सञ्चालन भएको जिल्ला न्यायाधीशको परीक्षामा २ सय ३ जनाले परीक्षा दिएका थिए । तीमध्ये खुलामा ७ र आन्तरिकमा ४ जनाले मात्र नाम निकालेका छन्। उत्तीर्ण हुनेहरूमा अञ्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाई, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, वसन्तराज जोशी र मनिराम ज्ञवाली रहेका छन्।

आयोगले आन्तरिक, खुला, महिला, आदिवासी जनजाति, मधेसी र अपांगता भएको समूहअन्तर्गत ४३ पदका लागि विज्ञापन गरेको थियो। उत्तीर्ण हुनेहरूका लागि आयोगले ६ र ७ आसारमा अन्तर्वार्ताका लागि समय तोकेको छ।

आयोगले आन्तरिक खुलामा २१, खुलामा १२ महिलामा ४, आदिवासी जनजातिमा २, मधेसीमा २, दलितमा १ र अपांता भएकामा १ गरी ४३ जनाको विज्ञापन गरेको थियो। तर, सो विज्ञापनमा आवेदन दिएकामध्ये खुला र आन्तरिकमा परीक्षा दिएकाहरू पास भए पनि मधेसी, महिला, जनजाति, दलित र अपांगता भएकामा एक जना पनि लिखित परीक्षामा उत्तीर्ण नभएका पाइएको छ। अब रिक्त पदमा न्यायपरिषद्ले नियुक्ति गर्नेछ।

संविधानले नै परीक्षाका माध्यमबाट जिल्ला न्यायाधीशमा निश्चित कोटा नियुक्ति गर्ने व्यवस्था गरेको छ। तर, हरेक वर्ष न्यून मात्र उम्मेदवार उत्तीर्ण हुने हुँदा अनुत्तीर्ण भएका योग्य जनशक्तिबाटै पुनः परिषद्ले नियुक्ति गर्ने गरेको छ।

यसपटक पनि ३५ जना चोरबाटोबाट जिल्ला न्यायाधीश हुने भएका छन्। आयोगमा प्रधानन्यायाधीश अध्यक्ष तथा वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष, महान्यायाधिवक्ता र कानुनमन्त्री सदस्य हुने संवैधानिक व्यवस्था छ। जसमा न्यायपरिषद्को सचिव पनि सदस्यका रूपमा रहने गर्छन्।