काठमाडाैँ । नेपाली काङ्ग्रेस चन्द्रनिगाहपुर नगर समितिले आज नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाको प्रमुख आतिथ्ययतामा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीति भनेको स्वार्थ रहित सामाजिक सेवा भएको उल्लेख गर्दै राजनैतिक पार्टी, राष्ट्र र जनता प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरे । उनले भने -'आज जनआकाङ्क्षा अनुसार काम नहुँदा नेताहरू प्रति आक्रोश बढेको छ त्यो आक्रोश नेता , पुरानो पार्टीहरू हुँदै व्यवस्था विरुद्ध पनि सोझिन थालेको छ । उच्च ओहदामा रहेका सबै नेता , कर्मचारीहरूको अख्तियारमा रहेका फाइल खोल्दै सम्पत्ति छानबिन गर्न अख्तियार लागोस् सरकारले पहल गरोस् । '
कोइरालाले थप भने–'भ्रष्टाचार भनेको कुनै पार्टी विशेषको हुँदैन कुनै पार्टीले निर्णय गरेर गर्दैन । भ्रष्टाचारीले सकेसम्म कुनै प्रमाण नराखी भ्रष्टाचार गरेको हुन्छ त्यसलाई अख्तियारले कुनै आग्रह पूर्वाग्रह, सत्तापक्ष प्रतिपक्ष नभनी निर्भय पूर्वक स्वतन्त्र भई छानबिन गरोस् । त्यसमा कसैलाई जोगाउन लागियो भने हामी सबैले पार्टी भन्दा माथि उठी खबरदारी गर्नुपर्दछ । '
अर्को प्रसङ्गमा बोल्दै उनले देशको सिमानामा बसेर देशको रक्षा गर्ने मधेसी जनतालाई पहाडिया राष्ट्रवादले शङ्काको दृष्टिले हेर्ने गरेको भन्दै विकास निर्माण, शिक्षा स्वास्थ्यको सेवामा पनि मधेसलाई पछाडि पारिएको उल्लेख गरे ।
नगर सभापति मुकेश गिरीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सांसद द्वय धनलाल थोकर , शेखलाल बाबु , मधेस प्रदेशका सदस्य सूर्य बहादुर थापा , उपमेयर जयमाला चौधरी ,महासमिति सदस्य मिथलेस मिश्र ,किषान महासंघका केन्द्रीय सदस्य आलोक कोइराला, तरुण दलका जिल्ला सभापति सोबित सिलवाल , ने बि संघका जिल्ला सभापति अधिकार लामिछानेले आफ्नो मन्तव्य राखेका थिए ।